सडक सञ्जालमा जाेडियाे थलाले गाउँ, सकियाे दुखान्त युग

जुम्लाकाे दुर्गम बस्तिमा गनिने भेरिखाेलाकाे थलाले गाउँ सडक सञ्जालमा जाेडिएकाे छ। तातोपानी गाउँपालिका वडा नम्वर ८ मा रहेकाे थलाले गाउँ २०८१ माघ २९ गतेबाट औपचारिक रुपमा सडक सञ्जालमा जाेडिएकाे हाे।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाई, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगाएतकाे सरकारी टाेलि थलाले पुगेर आज (माघ २९) सडककाे उद्घाटन गरिएको छ। तातोपानी ७ काे पातरसाँघु हुँदै सडक थलाले गाउँ सम्म जाेडिएकाे छ। तातोपानी गाउँपालिकामा सडक पुग्न बाँकि एक मात्र बस्ती थलाले रहेकाे थियाे।
सडक सञ्जालमा जाेडिएपछि थलालेबासीलाई यातायात र ढुवानीका दृष्टिले सहजता हुने छ। तातोपानी ७ र ८ नम्बरलाई गाउँपालिकाले विशेष क्षेत्र घाेषणा गरेर हरेक विषयलाई प्राथमिकता दिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाईले बताए ।
विगतमा पनि टाेप्ला हुँदै थलाले जाेड्ने सडक निर्माण पूरा नहुँदा कराेडाैं बजेट खेर गएको थियाे। यस पटक अथक प्रयासपछि सडक पुगेकाेले यसलाई थप दिगाे बनाउनुपर्ने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए ।
कठाेर चट्टान छिचाेल्दै थलाले सम्म गाडि पुगेपछि अब थलालेकाे दुखान्त युग सकिएको तातोपानी ८ का वडा अध्यक्ष नर बहादुर रावतले बताए ।
पातरसाँघु बाट थलाले सम्मकाे ४ दशमलव १७ किलाेमिटर दुरिमा विभिन्न चरणमा गरि १ कराेड २० लाख लागतमा थलाले सम्म सडक पुगेकाे जाेखे आटी देखि थलाले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष खेम बहादुर शाहीले बताए ।
याे आर्थिक वर्षमा ५० लाख लागतमा १ दशमलव ८ किलाेमिटर सडक खनेर गाउँ पुर्याइएकाे उनले बताए ।
पहिले टाेपि खस्ने उकालाेमा निर्माण सामाग्री र खाद्यान्न बाेक्नुपर्न बाध्यता थियाे, अब भने थलाले बासिकाे दुखान्त युग सकिएकाे पूर्ण बहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस