तिलाका वडा–वडामा बालमैत्री र पोषणमैत्री स्थानीय शासनका सुचक माथि छलफल

जुम्लाको तिला गाउँपालिकामा बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारीलाई तीव्र पारिएको छ । जुम्लाका ८ स्थानीय तह मध्य पहिलो पटक तिला वडा नं ६ लाई गत आर्थिक वर्षमा बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ । कुल ९ वटा वडा रहेको तिलामा सिंगो पालिकालाई बालमैत्री र पोषणमैत्री स्थानीय शासन घोषणा गर्न गाउँपालिका तीव्र तयारीमा जुटेको हो । यतिबेला तिला गाउँपालिकाका प्रत्येक वडा वडामा बालमैत्री तथा पोषणमैत्री शासन घोषणाका लागि सुचक माथि छलफल सुरु गरिएको छ । प्रत्येक वडा–वडामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थी, शिक्षक र युवाको सहभागितामा बालमैत्री शासनका ५१ तथा पोषणमैत्री स्थानीय शासनका ४९ वटा ‘सुचक माथि छलफल भएको तिला गाउँपालिकाकि महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बताइन् ।  
‘तिला गाउँपालिका र किर्डाक नेपालको साझेदारीमा बालमैत्री र पोषणमैत्री पालिका निर्माणका लागि काम भइरहेको छ, अहिले तिला ६ नं बाहेकका ८ वटै वडामा व्यापक छलफल भइरहेको छ, पुरा नभएका सुचक तर्फ वडाकोे ध्यानार्कषण गरिएको छ । महिला तथा बालबालिका शाखा प्रमुख थापाले भनिन् ।’
बालबालिकाको हरेक पक्षमा संवेदनशील बन्दै बालअधिकार प्रवद्र्धन गर्नका लागि अघि सारिएको बालमैत्री स्थानीय शासन अवधारणा लाई तिला गाउँपालिकाले आत्मसात् गदै बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको पृष्ठपोषण गर्दै संस्थागत विकासमा समेत जोड दिएको तिला गाउँपािलकाकि उपाध्यक्ष गोरीकला बुढाले बताइन् । अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक व्यवस्थाको प्रत्याभूति गर्न बालबालिका सम्बन्धी ऐन, नियमावली, निर्देशिका तथा कार्यविधि बनाई कार्यान्वयनमा ल्याइएको उनले बताइन  ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ मा व्यवस्था गरिए बमोजिम नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको तिला गाउँपालिका स्वास्थ्य शाखा कि सहसंयोजक जानकी हितानले बताइन् । निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाउमा १४, बाल संरक्षणमा १०, बाल विकास र बाल सहभागितामा ६–६ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक रहेको उनले बताइन् । तेकिएका सूचकहरू पूरा गरेपश्चात् वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न जिल्ला समन्वय समितिबाट सहमति लिएर वडा समितिको सिफारिसमा कार्यपालिकाको बैठकबाट स्वीकृति लिनुपर्ने, गाउँपालिका तथा नगरपालिकालाई सम्बन्धित प्रदेश मन्त्रालयबाट स्वीकृति लिएर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न सकिने प्रावधान छ ।्
गाउँपालिकाको अभिषनलाई सफल पार्नका लागि पूर्वाधार र वातावरण बालमैत्री बनाइने तिला ५ का वडा अध्यक्ष ललित बहादुर शाहिले बताए । विद्यालयमा भयरहित सिकाइसँगै कक्षाकोठा, फर्निचर, खेलमैदान, खानेपानी धारा, छात्रछात्राका लागि अलगअलग शौचालय निर्माणमा जोड दिइने बताए । 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस