
वारीपारीका ज्युलोमा मार्सीको बयली । बिचमा तिला नदिको उलर्दो भेल । अनि डाँडा पाखामा लोभलाग्दो गरि फलेका स्याउ बगैंचा । तिला नदिको सुसेली सँगै खेतमा मार्सी धान हुर्किदै छ । पाखाका स्याउ बगैंचामा भने किसानको हलचल बढिरहेको छ । यो जुम्लाको वर्तमान हो ।
जब मध्य वर्षायाम आउन्छ, तब यसले चुपचाप किसानहरुमा एकाएक हलचल ल्याइदिन्छ । साउन महिनामा फुर्सदिला बनेका जुम्ली किसानलाई भदौ पहिलो साताबाट स्याउ टिप्ने चटारो हुन्छ । जुम्लामा स्याउ टिप्न सुरु भइसकेको छ । वर्षभरीको मेहनतबाट आम्दानीको जोडघटाउमा किसान जुटिसकेका छन् । स्याउ परिपक्क भइसकेकोले बेच्न सुरु गरिएको तातोपानी ७ सर्मीका मुन बहादुर कुँवरले बताए ।
‘स्याउ जुम्लाको परिचय बनिसकेको छ, नेपाली बजारमा जुम्लाको स्याउले छुट्टै पहिचान बनाएको छ । जुम्लाको स्याउ विषादी रहित अर्गानिक हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’ स्थानीय जनक रावतले भने । जुम्ली स्याउको माग नेपालका ठूला शहर काठमाण्डौ, पोखरा, सुर्खेत, नेपालगञ्ज, विराटनगरमा समेत हुने गरेको छ । जुम्लामा गोल्डेन, रेड, रोयल डेलिसियस जातका स्याउ फलिरहेका छन् ।
जुम्लामा स्याउ सिजनमा सानोतिनो आम्दानी नभएको घर कमै छन् । स्याउ रोपेका हरेक घरले न्युनतम ५ हजार देखि लाखौं आम्दानी गर्ने गरेका छन् । जुम्लामा स्याउ मात्रै होइन, कर्णालीको भविष्य पनि फलिरहेको छ । जुम्ला कर्णाली राजमार्गमा जोडिएपछि अभूतपुर्व रुपमा स्याउ खेती फस्टाएको हो ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । जस मध्य २ हजार हेक्टरको स्याउ उत्पादनशील छ । गत वर्ष जुम्लाबाट १८ हजार ८ सय मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । ‘गत वर्ष स्याउबाटै जुम्लामा ६१ करोड रुपैंया भित्रिएको थियो, यो वर्ष उप्दान घटेको अनुमान छ । रोगकिरा, असिना र खडेरीले उत्पादनमा कमि ल्याएको छ तर उत्पादन कम भएतापनि स्याउको आकार र स्वादमा निकै राम्रो छ ।’ कृषि विकास कार्यालयका प्रमुख अधिकारीले भने ।
भदौ पहिलो साताबाट स्याउ टिप्न दिने निर्णय गरिएको समेत उनले बताए । यसअघि यो वर्ष भदौ १५ गतेपछि मात्रै विक्रि वितरणको अनुमति दिने निर्णय गरिएतापनि स्याउ परिपक्क भइसकेकाले पुन भदौ पहिलो साताबाट टिप्न दिने निर्णय गरिएको उनले जानकारी दिए ।
३८ हजार विरुवाको एकिकृत स्याउ बगैंचा

हजारौं एकानासे स्याउका विरुवा, घना बगैंचामा लटरम्म फलेका स्याउ । यो दृश्य हो, जुम्ला गुठिचौर ५ जलजला स्याउ बगैंचाको । ३८ हजार विरुवाको लोभ लाग्ने स्याउ बगैंचामा पुग्दा सबै मग्नमुग्ध हुन्छन् । जुम्ला खलंगा बजारबाट १५ मिनेट माटेर यात्रा गरेपछि पुर्वको गुठिचौर गाउँपालिकाको जलजलाको विशाल स्याउ बगैंचामा पुगिन्छ । नेपालकै ठुलो दाबि गरिएको यो स्याउ बगैंचामा एकनासका विरुवामा फलेका स्याउ देख्दा लाग्छ, जुम्लामा केवल स्याउ मात्रै फलिरहेका छैनन्, कर्णालीको भविष्य पनि फलिरहेको छ ।
इटालियन फुजी स्याउको यो बगैंचाले गाउँघरमै सयौं लाई रोजगारी दिइरहेको छ । स्याउ बगैंचामा २२ जना नियमित काम गर्ने कर्मचारी छन् । सिजनमा २ सय जना सम्मले स्याउको काममा जोडिन्छन् । परिवारको रेखदेख गर्दै आफ्नै ठाउँमा रोजगारी पाउँदा खुसि लागेको स्थानीय सोमन सार्कीले बताए । ‘सँगैका साथीभाई परिवार पाल्नका लागि कोहि भारतमा छन्, कोहि खाडि मुलुक पुगेका छन्, मैले गाउँघरमै बसेर परिवारलाई रेखदेख गर्दै काम गर्न पाएको छु, घरमा कोहि बिरामी पर्दा, समस्या पर्दा आत्तिनुपर्ने स्थिति छैन ।’ उनले भने ।
जलजलाकाे स्याउ बगैंचाले रोजगारी सँगै कृषि पर्यटनलाई समेत जोडेको छ । पर्यटकहरु फुलफुल्ने समय र स्याउ फलेका बेला बगैंचा अवलोकनका लागि पुग्ने गर्छन । बगैंचा भित्रको देब्रे कुनामा पर्यटकका लागि क्यान्टिन सञ्चालनमा ल्याइएको छ । विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणको शिलाशिलामा समेत यहाँ पुग्छन् । पर्यटकहरु पुगेर स्याउ खाने, लैजाने र भिडियो बनाउने, तस्वीर खिच्ने गर्छन । पुगेका हरु रमाइरमाइ फर्कन्छन् ।
। ७० को दशकमा गाउँगाउँमा साना देखी मझौला स्याउ बगैंचा मात्रै थिए, अहिले उच्च घनत्वका स्याउ बगैंचा समेत थपिएका छन् । जसले रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनमा नयाँ आयाम थपेका छन् । २०७७ साल बाट बगैंचा विस्तारको काम सुरु भएको थियो । हाल सम्म आइपुग्दा झण्डै २५ करोड बराबरको लगानी भइसकेको व्यवस्थापक केसी बहादुर भण्डारीले बताए ।
१५ लाख किलो स्याउ भण्डारण गर्ने क्षमताको कोल्ड स्टोर तयार

जुम्लामा १५ लाख किलो स्याउ भण्डारण गर्ने कोल्ड स्टोर तयार भएको छ । पछिल्लो समय हिमाली जिल्ला जुम्लाले आफ्नो परिचय बदल्दै छ । कुनैबेला रोग, भोग र शोकको पर्याय भनेर चित्रित हुने जुम्लामा एक पछि अर्को चमत्कार भइरहेका छन् ।
अब कैलाश कोल्डस्टोरले १५ लाख किलो स्याउ भण्डारण गर्ने क्षमता विस्तार गरिसकेको छ । जुम्ली स्याउ अव केवल भदौ÷असोजमा मात्र होइन, वर्षभरि यसको स्वाद लिन पाइने छ । विगतमा कोल्डस्टोरको अभावमा जुम्लाको स्याउ भदौ असोजमै जिल्लामा रित्तिन्थ्यो । भण्डारण गर्न नसक्दा भदौ÷असोज बाहेक अरु महिनामा खोजेर पनि जुम्लाको स्याउ पाउन सकिदैनथ्यो ।
चुकेनी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि कोल्डस्टोर सञ्चालन सम्भव बनेको हो । जुम्लामा कैलाश कोल्ड स्टोरले किसानको स्याउ भण्डारण गरेर अफ सिजनमा मुल्यवान बनाउनेगरि तयारी थालेको छ । जुम्ला बसपार्क क्षेत्रमा निर्माण भएको कोल्डस्टोरले किसानको आम्दानी बढाउन मद्धत गर्ने सञ्चालक देउऋषि चौंलागाईले बताए । ६ वर्ष लगाएर निर्माण भएको कोल्डस्टोरमा विकल्पको रुपमा सोलार समेत जडान गरिएको छ ।
कोल्डस्टोरले किसानबाट स्याउ खरिद समेत गर्ने सञ्चालक चौंलागाईले बताएका छन् । उनकानुसार किसानले स्याउ भण्डारण समेत गर्न सक्नेछन, यस बापत स्याउ भण्डार गरेदेखि बेचुन्जेल सम्म प्रतिकिलो ५ रुपैंया मात्र पैंसा तिर्नुपर्ने छ ।
