गुठिचौर १ ले दियो, उत्कृष्ट किसान धर्मजीत बस्नेतलाई पुरस्कार

जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्वर १ का ‘उत्कृष्ट किसान’ धर्मजीत बस्नेत पुरस्कृत भएका छन् । जुम्लाको गुठिचौर १ का किसान धर्मजीत बस्नेतलाई गुठिचौर गाउँपालिका वडा नम्वर १ ले पुरस्कृत गरेको हो । आज गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले किसान धर्मजीत बस्नेतलाई घरमै पुगेर नगद ३३ हजार ७ सय ५० रुपैंया पुरस्कार स्वरुप हस्तान्तरण गरेका छन् । गुठिचौर १ ले नमुना किसानको सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै कृषि क्षेत्रमा रचनात्मक ढंगले लागिपर्ने र उत्पादनमा दत्तचित्त भएर जुट्ने किसानलाई स्थानीय सरकारले प्राथमिकता साथ प्रोत्साहन गर्ने गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए । कृषिमा आत्मनिर्भर नभइ पालिकाको समृद्धि सम्भव नभएको भन्दै किसानमैत्री नीति, कार्यक्रम र बजेटमा गुठिचौर तयार रहेको समेत अध्यक्ष बुढाको भनाई छ । युवा शक्ति विदेश पलायन भइरहेका बेला किसान धर्मजीत बस्नेतले दुर्गम क्षेत्रबाटै कृषिमा आत्मनिर्भर बन्न सकिने तथ्य पुष्टि गरेको उनले जानकारी दिए ।
‘गुठिचौर १ मा सुरुवाती समयमा किसान धर्मजीतलाई गिज्याउने धेरै थिए । परम्परागत खेती प्रणाली त्यागेर खेतीयोग्य जमिनमा जडिबुटि, स्याउ रोप्न देखेर कतिपयले बौलाहाको संज्ञा समेत दिए, तर अहिले धमजीतको जग्गामा ५० किलो दुर्लभ जडिबुटि बन लसुन छ, जो मुल्यवान छ ।’ गुठिचौर १ का वडा अध्यक्ष अर्जुन कुमार् महताराले भने । किसान धर्मजीत बस्नेतले लामो समय जडिबुटीमा अनुसन्धान गरेर समग्र अपर गुठिचौरलाई नयाँ सन्देश दिएकोले उनलाई वडाले सम्मान गरेको वडा अध्यक्ष महताराले बताए ।
अरुले बनबाट संकलन गरेको जडिबुटी बेचिरहदा आफुले खेतबारीमा रोपेको किसान धर्मजीत बस्नेतले सुनाए । अहिले पाटन, वन जंँगलमा समेत लोभ भएको दुर्लभ जडिबुटि आफ्नो खेतबारीमा सजिलै अवलोकन गर्न सकिने उनले बताए । स्थानीय सरकार वडा पालिकाले आफ्नो मेहनतको कदर गर्दै प्ुरस्कृत गर्दा आफुमा अझ हौसला बढेको उनले बताए ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस