पातारासीकाे ज्याेति स्कुलका विद्यार्थीलाई वडाले दियाे विद्यालय पाेशाक

वडाकाे अभियानले बढे विद्यार्थी, २० बाट ८० पुगे

जुम्लाकाे पातारासी गाउँपालिका ५ मा रहेको ज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल पोशाक, खेलकुद र शैक्षिक सामग्री स्थानीय वडा सरकारले उपलब्ध गराएको छ । ८० जना विद्यार्थीलाई स्कुल पोशाक, खेलकुद र शैक्षिक सामग्री वडा सरकारले उपलब्ध गराएको हो । विद्यालयमा २० जना मात्रै विद्यार्थी अध्ययनरत भएकाले अन्य विद्यार्थी समेतलाई भर्ना गरी स्थानीय सरकारका तर्फबाट स्कुल पोशाक, खेलकुद र शैक्षिक सामग्री उपलब्ध गराईएको वडाध्यक्ष दत्त वहादुर बुढाले बताएका छन् ।
उनका अनुसार, अहिले विद्यालयमा जम्मा ८० जना विद्यार्थी पुगेका छन् । वैशाख महिनामा भर्ना अभियान सकिएपनि नयाँ विद्यार्थी भर्नाका लागि विद्यालयले जेठ महिनामा पुन अभियान संचालन गरेको हो । विद्यालयमा भर्ना भएका विद्यार्थीलाई वडाकै बजेटबाट स्कुल पोशाक, खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको उनकाे भनाइ छ ।
किताब, कापी, कलम र खेलकुदका सामग्री दिईएको वडाध्यक्ष बुढाले जानकारी दिएका छन् । स्कुल पोशाकमा आउदा राम्रो हुने भएकाले उपलब्ध गराईएको उनको भनाइ छ । ज्योति आधारभुत विद्यालयमा विद्यार्थी नहुँदा विद्यालय मर्ज हुने अवस्थामा पुगेको बेला अभियान संचालन गरि करिब १ सयको हाराहारीमा विद्यार्थी भर्ना गर्न सफल भएको वडा अध्यक्ष बुढाकाे दाबि छ ।
विद्यार्थीको संख्या घट्दै गएको हुनाले प्रत्येक वर्ष स्कुल पोशाक, खेलकुद र शैक्षिक सामग्री वडाबाट उपलब्ध गराइने उनकाे भनाइ छ ।
अहिले अंग्रेजी माध्यमबाट कषा ५ सम्म निःशुल्क पठनपाठन भइ रहेको वडाध्यक्ष बुढाले जानकारी दिए । डिल्लीचौ, मुडुरी, लुम, तिर्खु, जप्ना र लासि गाउँँका बालबालिका अध्ययनका लागि ज्योति आधारभुत विद्यालयमा आउने गरेका छन् । धेरै बालबालिका स्कुल पोशाक र शैक्षिक सामग्री बिना विद्यालयमा आउने भएकाले वडाको बजेटबाट व्यवस्थापन गरीएको वडाध्यक्ष बुढाले बताए । पहिले उक्त विद्यालयमा २० जना मात्र विद्यार्थी थिए । यहि शैक्षिक सत्रबाट ९० जना विद्यार्थी पुगेका छन् ।
मुडुरीको पञ्चकोषि आधारभुत विद्यालयको पढाई कमजोर भएकाले उक्त विद्यालयका अधिकांस विद्यार्थी ज्योति आधारभुत विद्यालय लासिमा आउने गरेको मुडुरीका स्थानीय अंखराज बुढाले बताए । गाउँको विद्यालयमा विद्यार्थी कम हुनुका साथै दिउसै शिक्षकहरू विद्यालय बन्द गरि घर जान थालेपछि बालबालिका ज्योति आभारभुत विद्यालय लासिका ल्याउन बाध्य भएको उनकाे भनाइ छ । दुई घण्टा समय लगाएर बालबालिका लासिमा आउन थालेको उनले बताए । ज्योति आधारभुत विद्यालय लासिमा पढाई राम्रो भएकाले बालबालिकालाई गाउँको विद्यालय भन्दा छिमेकी विद्यालयमा पठाउन थालिएको हाे ।
पाँच वर्ष माथिका बालबालिका लासिमा पढ्नको लागि आउने गरेको मुडुरीका अर्का स्थानीय कालीवहादुर ऐडिले बताए । गाउँको विद्यालयमा पढाई राम्रो नभएर लासिमा बालबालिका पठाउनु परेको उनकाे भनाइ छ । दरबन्दिका ३ जना र इसिडि सहजर्कता १ जना पञ्चकोषिमा कार्यरत छन् । तर, अभिभावकले पढाइ प्रति विश्वास नगर्दा लासिमा बालबालिका पठाउन थालेको उनकाे भनाइ छ । मुडुरी लगायतका बालबालिकाल लासिमा आउन थालेको एक हप्ता जति भएको छ । मुडुरीको आधारभुत विद्यालयमा विद्यार्थीले पढ्न, लेख्न र बोलिभाषा नजान्ने भएपछि लासिमा ल्याउनु परेकाे उनले जानकारी दिए ।
लासिको आधारभुत विद्यालयमा बालबालिका ल्याउनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण वहादुर बोहोरा, स्थानीय हरिश्चन्द्र बुढा र राज कुमार बुढा भूमिका महत्वपूर्ण छ । लासिका स्थानीय वुद्धिजिवि, राजनीतिक दल, जनप्रतिनिध र अभिभावकको सहयोगमा बन्द हुन अवस्थामा पुगेको विद्यालयमा बालबालिकाई अध्ययन गर्न आउन थालेका छन् । विद्यार्थी विद्यालयमा ल्याउन विशेष गरी वडा नम्बर ५ का वडाध्यक्षको भुमिका महत्त्वपूर्ण रहेकाे स्थानीय बताउन्छन् । 

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस