जुम्लाकाे दुर्गम तिला गाउँपालिका वडा नम्वर ९ काे ढिपु लेकमा एनटिसिकाे टावर उद्घाटन गरिएको छ। जिल्लाकै दुर्गम मानिने तिला गाउँपालिकाकाे ढिपु लेकमा वैशाख २५ गते एनटिसि टावर उद्घाटन गरिएकाे तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाले जानकारी दिएकि छन्।
यहि वैशाख २५ गते (मंगलबार) तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढा, तिला ९ का कार्यवाहक वडा अध्यक्ष महेन्द्र रावत, वडा सदस्य र स्थानीयकाे उपस्थितिमा टावर उद्घाटन गरिएकाे हाे। ढिपु लेकमा २०७९ सालबाट एनटिसि टावर निर्माण प्रारम्भ भएकाे थियाे। ढिलै भएपनि तिला ९ का नागरिक सञ्चारकाे पहुँचमा पुगेका छन्। याे टावरबाट स्थानीयले फाेन नेटवर्क सँगै फाेरजी सुविधा समेत उपभाेग गर्न पाएकाे तिला कि उपाध्यक्ष गाेरिकला बुढाले नयाँ कर्णालीलाई जानकारी दिएकि छन्।
तिला गाउँपालिका वडा नम्वर ९ काे माथि खाेप्री, तल खाेप्री, ढिपु, राँसा, मालापानी, रिपि लगायतका आधा दर्जन गाउँमा सञ्चारकाे सास्ती थियाे। फाेन गर्नका लागि माेवाइलमा टावर खाेज्दै डाँडाकाँडा धाउनु पर्थ्याे, ढिपु लेकमा टावर सञ्चालनमा आएपछि ठूलो राहत महसुस भएकाे तिला ९ तल खाेप्रीका स्थानीय टेकेन्द्र बुढाले बताए ।
जुम्लाकै दुर्गम ढिपुलेकमा एनटिसि टावर उद्घाटन
प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस