
जुम्लाको तातोपानी गाउँपालिकामा न्यायाधीशले नै श्रमदान गरेका छन् । आज शनिवार (फागुन २६ गते) उच्च अदालत सुर्खेत जुम्लाका न्यायाधीश द्धय जगदीश घिमिरे, कैलाश गुरुङ, रजिष्टार यम प्रसाद बास्कोटा, जिल्ला अदालतका न्यायाधीश राजेश कटुवाल र प्रकाश न्यौपानेले तातोपानी गाउँपालिकामा पुगेर श्रमदान गरेका हुन् । आज न्यायाधीस, जनप्रतिनिधि, कर्मचारी, पत्रकार र स्थानीयको श्रमदानमा तातोपानी गाउँपालिको प्राङ्गणमा ६० वटा स्याउका विरुवा रोपिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले जानकारी दिएका छन् ।
विगत ९ महिनादेखि तातोपानी गाउँपालिकामा श्रमदान हुँदै आएकोमा आज न्यायाधीस समेतको उपस्थितिमा स्याउका विरुवा रोपिएको अध्यक्ष चौंलागाईले बताए । ‘नियमित श्रमदान भइरहदा सबैतिर यो प्रयासलाई सकारात्म रुपमा लिएको पाएका छौं, तर स्थानीयहरु श्रमदानमा स्वतस्फूर्त सहभागी हुन सकिरहेका छैनन्, आज न्यायाधीस हाम्रो श्रमदानमा सामेल हुनुभयो, यसले तातोपानीका नागरिकलाई श्रमदानमा सहभागी हुन प्रेरणा मिल्ने आशा गरेका छौं ।’ अध्यक्ष चौंलागाईले नयाँ कर्णालीसँग भने । श्रमदानको अभियान सुरु गरेपछि केहि हदसम्म पालिकामा टुक्रे योजना माग गर्ने प्रवृत्ति कम भएको अध्यक्ष चौंलागाईले बताए । श्रमदानले निरन्तरता पाएपछि सामान्य मर्मत सम्भारका लागि पालिकाकै बजेट पर्खने प्रवृत्ति अन्त्य भएको अध्यक्ष चौंलागाईको भनाई छ ।
विगत ९ महिनादेखि तातोपानी गाउँपालिकामा श्रमदान हुदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले बताए । उनका अनुसार प्रत्येक महिनाको दोसो शनिवार श्रमदान हुने गरेको छ, तर यो महिना समय प्रतिकुल हुँदा चौंथो शनिवार श्रमदान गरिएको हो । श्रमदानबाट हाल सम्म तातोपानी १ देखि ६ नम्वर वडा भित्र नहर, पाटि पौवा, बाटो, खानेपानी, प्रतिक्षलय लगाएत पुन निर्माण भएको उनले बताए । तातोपानी गाउँपालिका वडा नम्वर ७ र ८ मा भने भौगोलिक रुपमा विकट भएकोले पालिकाका जनप्रतिनिधि र कर्मचारीबाट तत्काल श्रमदान गर्न कठिनाई भएको अध्यक्ष चौंलागाईले बताए । आगामी दिन के कसरी श्रमदानलाई जोड्न सकिन्छ ? यसका विकल्पबारे छलफल भइरहेको अध्यक्ष चौंलागाईले बताएका छन् ।