
आज भन्दा चार वर्ष अघि जुम्ला चन्दननाथ ४ का बिराज भण्डारी भर्खरै लिफ आर्टमा साधना गरिरहेका थिए । २०७७ साल असार ३ गते, यो दिन विर्सन नसक्ने गरि विराजको स्मृतीमा बसेको छ । यहि दिन ओखरको पातमा लिपुलेक सहितको नेपालको नक्सा कोरेका थिए, विराजले । पहिलो लिफ आर्ट सामाजिक सञ्जालमा राख्दा उनको चर्चा सुरु भयो । विस्तारै उनको कला सञ्चार माध्यममा छाउन थाल्यो । रेडियो, पत्रपत्रिका र टेलिभिजनमा उनको कलाबारे चर्चा सुरु भयो । त्यसपछि विराजको कलाले व्यवसायिक रुप लियो ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकार, खेलाडी, राजनितिज्ञ तथा बैज्ञानिक हरुको मानव आकृती दुरुस्तै पातमा उतार्ने क्षमताले विराजलाई आयआर्जनमा जोड्यो । उनले ४ वर्षभित्र लिफ आर्टबाटै १२ लाख सम्म आम्दानी गरिसकेका छन् । जुम्ला बसाईको शिलशिलामा उनले जिल्ला भित्रका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगाएत विभिन्न व्याक्तिको अनुहार पातमा उतारेर आफ्नो क्षमता प्रस्तुत गरेका थिए । यस बाहेक जन्म दिन, विभिन्न पर्व तथा दिवश लक्षित चित्र र आकृति बनाएर कमाइमा जोडिएका विराजले आम्दानी सँगै ख्याति समेत बटुले । ‘यसरी आम्दनी हुन्छ भन्ने कल्पना थिएन, तर श्रम र सीपको सम्मान गर्ने वातावरण पाएँ, यसमा सन्तुष्ट छु, लिफ आर्टलाई व्यवसायिक बनाउन धेरैले प्रोत्साहन पनि गरे ।’ विराजले सुनाए ।
अहिले जुम्लाका विराज भण्डारी पातमा बनाउने चित्र अर्थात लिफ आर्टबाटै लाखौं कमाइरहेका छन् । जुम्लामा मात्र सिमित विराजको कला अहिले देशव्यापी बनेको छ । आजभोली विराज काठमाण्डौका विभिन्न विद्यालयमा लिफ आर्टको प्रशिक्षणमा व्यस्त छन् । ‘सुरुमा रहले अँगालेको सीप अहिले आयआर्जनको स्रोत बनेको छ, जुम्ला, डोल्पा, झापा, भक्तपुर, ललितपुर, काठमाण्डौ लगाएतका जिल्लाका विद्यालयमा लिफ आर्टको प्रशिक्षण गरिरहेको छु ।’ विराजले भने । प्रशिक्षणमा विद्यार्थीलाई लिफ आर्ट अर्थात पातमा बनाउने चित्रको महत्व, बनाउने तरिका, यसको बजार का बारेमा ज्ञान बाँडिरहेको उनले बताए ।
पातमा कोरिएको आकृति आकाशलाई पृष्ठभुमि बनाएर राख्दा प्रष्ट रुपमा देखिन्छ । विराजले पुर्व प्रधानमन्त्रि केपी शर्मा वलि देखि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह सम्मको आकृति बनाइसकेका छन् । यति मात्र होइन, उनिहरुबाट स्याबासी समेत पाएका छन् । कलालाई निरन्तरता दिन सुझाव पाएको विराजले बताए । विराजको कला अहिले देशव्यापी बनेको छ । प्राय जुम्लामै पातमा आकृती बनाउन व्यस्त रहने विराज आजभोली देशका विभिन्न जिल्लामा पुगेर आफ्नो सीप बाँडिरहेका छन् ।
जुम्लामा हिँउदेयामका ६ महिना सम्म पात नपाइने हुँदा प्रशिक्षणमा लागेको विराजले बताए । पिपल, ओखर, अंगुर लगाएतका पातमा चित्र तथा मानव आकृति कोर्ने विराजलाई जुम्लामा ६ महिना सुख्खा हुँदा समस्या हुन्छ । त्यहि समयलाई अहिले प्रशिक्षणमा सदुपयोग गरिरहेको विराजले जानकारी दिए । ‘हिमाली जिल्ला भएकोले जुम्लामा कार्तिक देखि चैत सम्म हरिया पातहरु पाउन असम्भव छ, अर्डर आएपनि त्यत्तिकै समय वित्छ, तर यो वर्ष प्रशिक्षण थालेपछि पछुत्तो छैन ।’ उनले भने ।
युवा जमात कुलत र विकृतिमा अल्झिरहेको खराब परिवेशले पिरोलीरहेको बेला विराजले आम्दानी र चर्चा बुटुलेको देख्दा हर्षित भएको उहाँका बुवा भिम भण्डारीले बताए । युवा पुस्ता सृजना र उत्पादनमा जोडिनुपर्ने उनको धारणा छ । ‘अहिले समय यस्तो आएको छ, कि, हरेक अविभावकलाई आफ्नो सन्ततिलाई कसरी कुलतबाट जोगाउने भन्ने पिरलो छ, तर छोराले जुन किसिमको सृजनशील काम थाल्यो यसबाट हामीलाई खुसि त मिलेको छ नै, यसका अलवा युवा जमातलाई एउटा प्रेरणा समेत मिलेको छ भन्ने लाग्छ ।’ उनले भने । सुरुमा विराजको चर्चा सुनेकाहरुले पत्याइरहेका थिएनन् । तर अहिले भएपछि विराजको कला गाउँ, समाज हुदैं देशव्यापी बनेको छ ।