‘परिवर्तनका संवाहक’ किशोर किशोरीले रोके तय भएका ३ बाल विवाह

जुम्लाको सिंजा क्षेत्रका किशोर किशोरीले तय भएका ३ वटा बालविवाह रोक्न सफल भएका छन् । आत्म सम्मानका लागि सहकार्य ‘क्याड’ नेपालको बालविवाह मुक्त गाउँ बनाउने अभियानमा जोडिएका किशोर किशोरीले हुन लागेका तिन वटा बालविवाह रोक्न सफल भएका हुन् । अभियानमा जोडिएका किशोर किशोरीलाई परिवर्तनका संवाहक नाम दिइएको छ । क्याड नेपालले २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा बालबिवाह तथा छाउपडी प्रथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा हिमा गाउँपालिकामा २ र कनकासुन्दरी गाउँपालिका १ गरि ३ वटा बालविवाह किशोर किशोरीको सक्रियतामा रोकिएको क्याड नेपालका कार्यक्रम संयोजक अजय महराले बताएका छन्
जुम्लाका आठै स्थानीय तहमा जटिल समस्याका रुपमा रहेको बालविवाह रोक्नका लागि सिंजा क्षेत्रका तिनै पालिकाका किशोर किशोरी, बाल अधिकार समिति, जनप्रतिनिधि जुटेको कार्यक्रम संयोजक महराले बताएका छन् । ‘भविष्यनै अन्धकार बनाउने प्रमुख कारक बालविवाह नै भएकोले यसलाई रोक्न सबै किशोर किशोरी एक जुट भएका छौं, प्रहरी, जनप्रतिनिधि, बाल अधिकार समिति सबैको पहलमा हिमामा तय भएका २ वटा बालविवाह रोक्न सफल भएका छौं ।’ हिमा गाउँपालिकाकि किशोरी बिमु परियारले भनिन् ।
पहिले अशिक्षाका कारण बालबिवाह भएपनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै बिवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि गाउँमा बालबिवाह रोक्ने अभियान चलाइएको कनकासुन्दरी ४ का वडा सदस्य सिंहराज सार्कीले बताए ।
‘किशोर किशोरीमा मोवाईल फोनको प्रयोगले समस्या निम्त्याएको छ, अहिले चेतना अभिवृद्धि हुदै छ, । आत्म सम्मानका लागि सहाकार्य (क्याड) नेपालले बालविवाह मुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटक पटक बालबिवाहका असर, कानुनी सजाय, उपयुक्त समयमा विवाह गर्दाका फाइदाका बारेमा तालिम दिएर सचेत बनाएको छ । बालविबाह रोक्न निगरानी समिति बनाएर प्रतिबद्ध भएर जुटेका छौं ।’ उनले भने ।
बालबिवाह गर्नेलाई वडाको सार्वजानिक सेवाबाट बञ्चित गर्नेदेखि बिवाहनै बहिस्कार गर्ने संस्कारको विकास भएको छ । कनकासुन्दरी गाउँपालिका वडा नं ४, ५ र ६ का दर्जनौ बस्तीलाई बालबिवाह मुक्त बनाउन स्थानीय जुटेका छन् ।
टोलटोलमा बालबिवाह तथा छाउपडी न्यूनीकरणका लागि अन्तरसंबाद तथा अन्तरक्रिया समेत भएको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेर बहादुर रोकायाले बताए । विगतको तुलना छाउपडी कम भएपनि बढ्दो बालबिवाहलाई रोक्न स्थानीयहरू लागि परेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस