धार्मिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण ‘पानसय पाटन’ जाेड्ने सडक निर्माण हुदै

असाेज ८, २०८०
हिमाली जिल्ला जुम्लाको भाैगाेलिक विविधताले यहाँको महत्त्व अझ बढाएकाे छ। बेसीमा मार्सी धान फल्ने फाँट, लेकमा कस्तुरी, डाँफे जस्ता पशुपंक्षि र पाटनमा यार्सागुम्बा जस्ता बहुमुल्य जडिबुटीले जुम्ला प्रसिद्ध छ । पानसय पाटन क्षेत्रका तालतलैया, आँखाभरि नअटाउने बुकियुक्त घाँसेमैदान । सुन्दर पाटन हेर्न चाहने र धार्मिक आस्थावान् दुवै पर्यटकको आकर्षणको केन्द्र रहेको ठाउँ हो, पानसय पाटन। उकालो चढ्दाको थकान पानसय पाटन पुगेपछि देखिने सुन्दरताले सबै मेटाइदिन्छ।
‘पुग्ने जोकोहीले पनि आहा क्या राम्रो पानसय पाटन !’, सबैका मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ। जुम्लाकाे ठूलाे ताल गिडिदह र जाेडिनिदह, शुक दह जस्ता हिमताल समेत पानसय पाटनमै रहेका छन्। हिमाली हिराका नामले परिचित यार्सागुम्बा समेत पानसय पाटनमा पाइन्छ। तर सडक सुविधा नहुदा याे क्षेत्र ओझेलमा परेकाे छ।
प्रचारप्रसारकाे अभाव र सडक सुविधा नहुँदा पर्यटक उल्लेख्य मात्रामा पुग्न सकिरहेका छैनन्। पिछडिएको क्षेत्रमा निरास बनेका नागरिक अहिले पानसय पाटन जाेड्ने सडक निर्माण सुरु भएपछि हर्षित भएका छन्।
जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मी गाउँबाट पानसय पाटन जाेड्ने सडक निर्माण प्रारम्भ भएकाे छ।
धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण जुम्लाकै सबैभन्दा ठुलाे पानसय पाटन पुग्न चार कराेड लागतमा सर्मीगाउँ बाट सडक निर्माण सुुरु भएको हाे। संघीय बजेटबाट निर्माण हुने सडक जुम्ला समृद्धिकाे मानक हुने विश्वास गरिएको तातोपानी ७ सर्मीका मुन बहादुर कुँवरले बताए ।
सडक निर्माण सुचारु भएपछि समग्र भेरिखाेलाबासीमा हर्ष छाएको छ, सुन्दर ठाउँ र धार्मिक क्षेत्र भएपनि पाटन ओझेलमा थियाे, भुरिचुला मालिका, नदै डाब, कालिका थान जस्ता धार्मिक स्थल र यार्सा लगाएत महत्त्वपूर्ण जडिबुटीकाे भण्डार पानसय पाटन, गिडिदह, जाेगिनिदह, सुपाकुना, लामा डाँडा जस्ता प्राकृतिक साैन्दर्यले भरिपूर्ण क्षेत्रमा पुग्न रणनीतिक सडक निर्माण प्रारम्भ हुनु जुम्लाकाे लागि ठुलो उपलब्धिका रुपमा लिइएको उनले बताए ।
सर्मीगाउँकाे लेकाली भूभागलाई छिचोल्दै पानसय पाटन उक्लने सडक निर्माण पश्चात् बहुआयामिक परिवर्तन हुने संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री गाैमा कुँवले बताइन।
‘जुम्ला चिनाउन र जुम्लीबासीकाे सुनाैलाे भविष्यका खातिर याे सडक काेशेढुंगा सावित हुने विश्वास छ, एकातिर पर्यापर्यटनलाई जाेड्ने छ, अर्काेतिर लेकाली क्षेत्रमा जडिबुटी, कृषि उत्पादन र विक्रिवितरणमा समेत टेवा पुग्ने देखिन्छ।’ उनले भनिन्,।
सम्म परेका पाटन, भेडिगाेठ, तालतलैया, अग्ला डाँडाकाडा निकै सुन्दर छन्।
स्थानीय पुर्वधार कार्यालय सुर्खेतकाे ४ कराेड बजेटमा सर्मीगाउँ देखि पानसय पाटन जाेड्ने सडक निर्माण सुरु भएकाे ठेकेदार करजंग शाहिले जानकारी दिए। उनकाअनुसार सडक निर्माणकाे जिम्मा पाएकाे सगरमाथा रेगन रेसंगा निर्माण सेवाले ४ कराेड बजेटमा ९ किलोमिटर सम्म सडक खन्न सकिने अनुमान गरिएकाे छ।
गत जेठमा सुरु भएकाे काम वर्षाका कारण भदाै महिनामा राेकिएकाे थियाे। अहिले काम धमाधम भइरहेकाे उनले बताए। दुइवटा मेसिनले सडक खन्नेकाम भइरहेकाे ठेकेदार शाहिले बताएका छन्। हालसम्म १ किलाेमिटर सडक खनिएकाे छ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस