चाैधबिसकाे शैक्षिक खम्बा ‘डिल्लीचाैर स्कुल’

डाेर बहादुरले बनाएको डिल्लीचाैर स्कुल

२६ भाद्र २०८०
जुम्ला पातारासी गाउँपालिका केन्द्र लासी बजारको ठिक अगाडी जप्न गाउँ छ, जप्नको डिलमा प्राकृतिक ओडार छ, जुन ओडारमा घामपानी छेक्ने र खण्ड खण्डमा मानिस जम्मा भएर राडी पाखी बुन्ने, उखान चुट्किला सुनाउने, धान कुट्ने प्रशस्तै ठाउँ छन् । यही ओडारबाट पातारासी(चाैधबिस) क्षेत्रमा अनाैपचारिक शिक्षाकाे सुरुवात भयाे।
ओडारबाट जग बसेको शिक्षा क्षेत्रमा मलजल हाल्ने श्रय भने मानवशास्त्री डाेर बहादुर विष्टलाई जान्छ। २०१७ सालमा स्थापना भएकाे ऋणमाेक्ष माद्यामिक विद्यालयमा मानवशास्त्री विष्टले आफ्नो सक्रिय जीवनको उत्तरार्द्धतिर जुम्लाको चौधबीसमा शिक्षाको दियो बालेका हुन् । विष्टले २०५० सालमा ऋण मोक्ष मावि डिल्ली चौरमा बेलायत, जापान र जर्मनी सरकारको आर्थिक सहयोगमा सुविधाजनक भवन, बिजुली बत्ती, शैक्षिक सामग्री र छात्रावासको व्यवस्थापन गरी चौधबीसलाई विर्सि नसक्नुको गुन लगाएको कुरा स्थानीय बासिन्दा अहिले पनि स्मरण गर्छन् ।
डाेर बहादुर विष्टले उकालाे चाैरमा कलात्मक ढंगले निर्माण गरेका भवनहरु अहिले पनि अस्तित्व(प्रयाग) मा छन्। त्यतिबेलाकाे समयमा अशिक्षा, गरीबी र अज्ञानताकाे दबदबापूर्ण समाजमा शिक्षा एक मात्रै त्यस्ताे अस्त्र थियाे, जसले सबै बाधा अड्काउ फुकाउदै सरल, सहज र सभ्य जीवनयापनका लागि सिंगाे समाजलाई डाेर्याउन सक्थ्याे। राज्य पुनर्संरचना पछि सिङ्गो चौधबीस पातारासी गाउँपालिकामा रूपान्तरण भएको याे क्षेत्रमा डाेर बहादुर विष्टले छाेटाे समयमै शिक्षाप्रतिकाे भाेग जगाइसकेका थिए।
तर सिंगाे पातारासीकै दुर्भाग्य! २०५२ साल पुस २५ गते घर जान जुम्लाबाट हिँडेका मानव शास्त्री डोरबहादुर विष्टको अवस्था अझै थाहा हुन सकेको छैन ।
उनले निर्माण गरेकाे ऋणमाेक्ष मावि आजबाट ६३ औं वसन्त पार गर्दै वसन्तमा प्रवेश गरेकाे छ। बाल विकास देखि कक्षा १२ सम्म पठनपाठन भइरहेकाे ऐतिहासिक विद्यालय हाक्ने जिम्मेवारी २९ वर्षिय प्रधानाध्यापक हरि बहादुर बुढाकाे काँधमा छ।
ऋणमाेक्ष माविमा हाल ६२३ विद्यार्थी अध्ययनरत रहेकाे प्रअ हरि बहादुर बुढाले बताए।
विद्यालयमा प्रअकाे जिम्मेवारी सम्हाल्दा थुप्रै समस्या थिए, विद्यालयकाे घेरबार नहुदा विद्यालय असुरक्षित थियाे।
‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन ।’ प्रअ बुढाले भने। अहिले घेरबार , कम्प्युटर ल्याब र व्यवस्थित विज्ञान प्रयाेगशाला निर्माण गरेकाे प्रअ बुढाले बताए ।
शिक्षा विभागबाट २०६३ सालमा हिमाली छात्राबास स्थापना भएपछि दुर बस्तिका छात्रा शिक्षामा जाेडिन पाएकाे उनले बताए। अहिले त्रात्राबासमा ५० जना छात्रा बसिरहेका छन्। पाँच वर्ष भित्र विद्यालयलाई आधुनिक सुचना प्रविधिमैत्री बनाउने लक्ष्य राखिएकाे प्रअ बुढाले जानकारी दिए।
डिल्लीचाैरमा दशैं तिहार भित्र भूपु विद्यार्थी अक्ष्यकाेष स्थापना गरिदै छ। यस काेषले विद्यालयबाट एसइइ र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति दिइने विव्यस अध्यक्ष चन्द्र बहादुर बुढाले जानकारी दिए।
मानवशास्त्री डाेर बहादुर विष्टकाे ईतिहास जाेडिएकाे महत्त्वपूर्ण विद्यालय पातारासिकै गाैरवका रुपमा रहेकाे पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले बताइन्।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस