
१५ साउन २०८०
फुटबलको सानो रुप ‘फुटसल’अहिले जुम्लामा लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । हिमाली जिल्ला जुम्लामा पनि फुटसल व्यवसायिक फुटसल स्थापना भएको छ ।
‘खुला ठाउँको अभावले किशोर देखि वयस्क सम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको जुम्ला फुटसलका सञ्चालक आमुस शाहिले बताए । ‘निर्पराज भारती, प्रकाश शाहि र म सहित तिन जनाको सहकार्यमा झण्डै १ करोड लगानीमा फुटसल सञ्चालनमा आएको छ, यो व्यवसाय मात्रै नभएर सेवा पनि हो ।’ आमुस शाहिले भने । अहिले दिनमा औसत ५ खेल सम्म हुन्छन, भने प्रति खेलको १ हजार ५ सय शुल्क लिने गरिएको छ ।
शुरुमा काठमाडौं केन्द्रित यो खेल अहिले साविकको कर्णाली अञ्चलको सदरमुकाम खलंगामा पनि सुरु भएको छ । यसलाई कतिपयले ‘फिटनेस सेन्टर’का रुपमा समेत प्रयोग गर्ने गरेका छन् । जुम्लामा नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी युवा, विद्यार्थी, स्वास्थ्यकर्मी लगाएत सबै वर्गले फुटसल खेल्ने गरेका छन् ।
शारिरिक व्यायाम र खेल कौशल वृद्धिका लागि फुटसल सारथी बनेको तातोपानी गाउँपालिका ६ का यूवा प्रकाश नेपालीले बताए । फुटसल सञ्चालकले पटक पटक टुनामेन्ट गर्नुपर्ने युवा महेश शाहि बताउन्छन् । ‘यो कसरतका लागि लाभदायक छ नै, तर बेलाबेला टुनामेन्ट भयो भने खेलाडीमा खेल क्षमता बढाउने भावनाको विकास हुुनुका साथै खेलाडीको संख्यामा पनि वृद्धि हु ।’ उनले भने ।
सन् २०११ मानवाङ निमा लामाले ठमेलमा एरेना फुटसलको शुरु गरे र यो नै नेपालमा स्थापित पहिलो फुटसल हो । थाइल्यान्ड, सिंगापुर जस्ता देशमा फुटसल ‘बिजनेस’ धेरै फस्टाएको देखेका उनले नेपालमा पनि फुटसल शुरु गर्ने अठोट गरे र लामो सोच विचारपछि ठमेलमा एरेना फुटसल खोलेको इतिहास छ ।
फुटसलको इतिहास र नियम
फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । प्रत्येक टिममा एक गोलरक्षक सहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । यो सामान्यतः ३० मिनेट प्रतिहाफ खेलाइन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् ।
यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ । यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ ।
उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको हो ।
फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ । नेदरल्याण्ड्स आयोजक रहेको पहिलो विश्वकपको विजेता ब्राजिल बन्यो । ब्राजिल फिफा फुटसल विश्वकपको सर्वाधिक पाँच पटकको विजेता हो । फिफाले आठ पटक विश्वकपको आयोजना गरिसकेको छ ।