सत्ता गठबन्धनको बैठकमा के-के भयो छलफल?

वैशाख २३, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

शनिबार साँझ बालुवाटारमा शीर्ष नेताहरू र कानुनविज्ञहरू समेतको बैठक बसेको हो। उक्त बैठकमा आइतबारदेखि सुरू हुने संसदबारे छलफल भएको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘भोलिदेखि संघीय संसदलाई कसरी चलाउने, त्यहाँ गर्नुपर्ने कामका विषयमा कुराकानी भयो। भोलिकै बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताबारे त्यहाँ प्रस्तुत गर्ने कार्यक्रम छ,’ उनले भने।

यस्तै बैठकमा बजेट, नीति तथा कार्यक्रममा के विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारेमा पनि छलफल भएको उनले बताए। ‘अहिलेको बजेट, नीति तथा कार्यक्रममा सरकारले के विषयलाई प्राथमिकता दिन्छ भन्नेबारेमा प्रधानमन्त्रीज्यूले सत्ता गठबन्धनका नेताहरूसँग राख्नुभयो,’ उनले भने।

यस्तै, यसअघि विश्वासको मत राख्दा प्रधानमन्त्री पुष्पकमल दाहालले प्राथमिकतामा राखेका विधेयकबारे पनि कानुन विज्ञहरूसँग परामर्श गरेको उनले जानकारी दिए।

‘कानुनहरूलाई कसरी अगाडि बढाउने। विभिन्न विधेयकलाई प्राथमिकतामा राख्नेबारे कुरा भएको छ। विशेषगरी नागरिकता विधेयक, संघीय शिक्षा ऐन, निजामती कर्मचारी ऐन, लगायतका अत्यावश्यक विधेयकका विषयलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भयो,’ उनले भने, ‘विषयगत समितिहरू पनि कसरी अगाडि बढाउने भन्नेमा छलफल भएको हो।’

त्यस्तै सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश रहेको र प्रधानन्यायधीश नियुक्ति गर्ने विषयबारे पनि छलफल भएको उनले बताए।

भुटानी शरणार्थीको विषयबारे भने छलफल नभएको उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिनुपर्ने पनि संवैधानिक व्यवस्था नभएको उनको भनाइ थियो।

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस