जुम्ला को राँका गाउँमा उभिएको ऐतिहासिक देवदेयारको रुख आज केवल रुख मात्र होइन, समयको जीवित दस्तावेज बनेको छ। पुस्तौँदेखि गाउँलेहरूले देख्दै आएको यो रुख उहिल्यै सुकिसकेको हाे, तर अझैसम्म ढलेको छैन, जसरी कुनै पुरानो इतिहास आफ्नो अन्तिम साससम्म पनि मेटिन मान्दैन।
यो रुखले धेरै पुस्ताको जीवन देख्यो, कसैले बाल्यकालमा यसलाई हरियो देखे, कसैले जवान हुँदा यसको छायाँमा विश्राम गरे, र धेरैले बुढ्यौलीमा यसको परिवर्तन नियाले। तर विडम्बना, जसले यो रुखको हरियाली देखे, ती धेरै आज यो संसारमा छैनन्। रुख मर्दा जन्मिएका मानिसहरू पनि आज सायद इतिहास भइसके।
तातोपानी १ राँका स्थानीय तीर्थ कठायतका अनुसार आफ्ना जेठा बुवाले समेत याे रुख हरियाे देेख्न नपाएको बताउन्छन्। २०५५ सालमा ९० वर्षकाे उमेरमा वितेका उनका जेेठा बुवाले समेत बाल्यकालमा याे रुख सुकेकै देखेका थिए। याे रुखलाई हरियाे देख्ने काेहिपनि जीवित छैनन्।
गाउँको बीचमा उभिएको यो सुक्खा तर ठाडो देवदेयार अहिले पनि प्रकृतिको अद्भुत सन्देश बोकेको छ—“समयले सबैलाई हराउँछ, तर केही चिनारीहरू कहिल्यै सजिलै ढल्दैनन्।”
स्थानीयका लागि यो रुख केवल काठ होइन, स्मृति, आस्था र पहिचानको प्रतीक हो।
मरेर पनि ढल्न नमानेको यो देवदेयार जुम्लाको मौन इतिहास हो, जसले समयलाई नै चुनौती दिइरहेको छ। रुख वरिपरि घर छन्। रुख ढलेमा घरहरु जाेखिममा पर्नेछन्। तर देवदेयार सुकिसक्दा समेत सैंयाैं वर्ष सम्म ढल्दैन।
निकै बलियो काठ जाे पानी बाट समेत हत्तपत्त कुहिदैन त्यसैले ढुक्कका साथ वरिपरि मानव बस्ती छ। याे रुख कहिले सम्म यसरी रहिरहन्छ, कुन पुस्ताले पुर्णरुपमा कुहिएकाे देख्ने हुन अनिश्चित छ।
