जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ अन्तर्गत राताढुंगादेखि बजडीसम्म ९ सय ५० मिटर लम्बाइको लिफ्ट सिँचाइ आयोजनाको सञ्चालनमा आएको छ। नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, मुगु मार्फत निर्माण भएको लिफ्ट सिंचाइ आयोजना आज उद्घाटन गरिएको छ।
आयोजनाले हिमा गाउँपालिका–१ का आचार्यलिहि र देवारगाउँका करिब १ हजार ५ सय जनसंख्या यसबाट प्रत्यक्ष रूपमा लाभ पुर्याउने अपेक्षा गरिएको छ। योजनाको उद्घाटन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुका प्रमुख तेज नारायण महतोले गरेका हुन्। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, प्राविधिक टोली तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
हिमा गाउँपालिका–१ का वडा अध्यक्ष रतन बहादुर शाहीले नयाँ कर्णालीसँग कुरा गर्दै योजना सञ्चालनमा आएपछि वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका स्थानीय किसानको समस्या समाधान हुने बताए। उनका अनुसार आचार्य र देवारगाउँका अधिकांश खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा पुग्ने भएकाले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ।
वडा अध्यक्ष शाहीका अनुसार उक्त योजनाबाट करिब १ हजार ५ सय जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्। सिँचाइ सुविधा विस्तारसँगै धान, गहुँ, मकै, तरकारी, स्याउ ओखर, सिमि तथा अन्य नगदे बालीको उत्पादन बढ्ने, किसानको आयआर्जनमा वृद्धि हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उनले बताए।
आयोजना अन्तर्गत राताढुंगादेखि बजडी सम्म ९५० मिटर दुरि छिचोल्दै पानी पुर्याइएको छ। सौर्य ऊर्जाको प्रयोगमार्फत पानी तानेर माथिल्लो भागका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध गराइने भएकाले वातावरणमैत्री र दिगो प्रविधिको प्रयोग हुने जनाइएको छ।
स्थानीय किसानले योजना उद्घाटन भएसँगै लामो समयदेखिको सिँचाइ समस्या समाधान हुने आशा व्यक्त गरेका छन्। आयोजना प्रमुख तेज नारायण महतोले गुणस्तरीय निर्माणलाई प्राथमिकता दिँदै निर्धारित समयभित्र योजना सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीयको सहयोग र समन्वयबाट योजना प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
स्थानीय तह, आयोजना र समुदायको सहकार्यमा अघि बढाइएको यो योजना हिमा गाउँपालिका १ को कृषि विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको युवा समाजसेवी पुर्णप्रसाद आचार्यले बताए।
