जुम्लामा राँको बाल्दै, लुतो फाल्दै उल्लासपूर्वक मनाइयो साउने संक्रान्ति

जुम्लामा राँको बाल्दै, लुतो फाल्दै उल्लासपूर्वक मनाइयो साउने संक्रान्ति

खस सभ्यता र संस्कृतिको उद्गमस्थल मानिने जुम्लामा परम्परा अनुसार घरघरमा राँको बाल्दै र लुतो फाल्दै साउने संक्रान्ति उल्लासपूर्वक मनाइएको छ। जुम्ली समुदायले प्रत्येक वर्ष विशेष महत्त्वका साथ मनाउने यो पर्वले स्थानीय संस्कृति, सामाजिक एकता र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ।
साँझ पर्न थालेसँगै जुम्लाका गाउँ–बस्तीमा राँकोको उज्यालो फैलिएको थियो। नदी वारपारका बस्तीमा लस्करै बालिएका राँकाले मनमोहक दृश्य सिर्जना गरेका थिए। घरपरिवार, आफन्त र छिमेकीहरू एकै ठाउँमा भेला भई शुभकामना आदानप्रदान गर्दै परम्परागत रूपमा साउने संक्रान्ति मनाएका छन्।
असार महिनाभर धान रोपाइँ तथा अन्य कृषि कार्यमा व्यस्त किसानहरू साउनको पहिलो दिनलाई श्रमबाट विश्राम लिने अवसरका रूपमा पनि लिन्छन्। हिलो, माटो र धुलोसँग बितेको असारपछि साउनको आगमनसँगै घरपरिवारसँग रमाइलो गर्दै पर्व मनाउने चलन जुम्लामा अझै जीवित छ। यस अवसरमा टाढा रहेका छोरीचेलीहरू माइत आउने, आफन्त र इष्टमित्र भेला हुने तथा विभिन्न परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने परम्परा रहेको छ। साउन महिनाभर मासु नखाने धार्मिक तथा सांस्कृतिक मान्यता पनि यहाँ प्रचलित छ।
साउने संक्रान्तिको मुख्य आकर्षण लुतो फाल्ने चलन हो। बेलुकी राँको बालेर गाउँभर घुम्दै थाल ठटाउने, शङ्ख फुक्ने, सिटी बजाउने र घण्ट बजाउने गरिन्छ। यसरी आवाज निकाल्दै लुतो, रोगव्याधि र अशुभ शक्तिलाई गाउँबाट बाहिर पठाउने जनविश्वास रहिआएको छ।
आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि जुम्लामा साउने संक्रान्तिको मौलिक परम्परा अझै जोगिएको छ। स्थानीय समुदायले पुस्तौंदेखि चलिआएको यो संस्कृतिलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई समेत यसको महत्वबारे जानकारी गराउने प्रयास गरिरहेका छन्। यही मौलिक परम्परा र सांस्कृतिक पहिचानका कारण जुम्लाको साउने संक्रान्ति कर्णालीकै विशिष्ट पर्वका रूपमा परिचित छ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस