सिन्जाको राईके डाँडामा बनेको नेपालको नक्सा रारा मार्गको नयाँ पर्यटकीय आकर्षण र स्थानीय परिश्रमको प्रतिफल

प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल जाने मुख्य मार्गमा पर्ने जुम्लाको सिन्जा गाउँपालिका वडा नम्बर ३ स्थित राईके डाँडामा निर्मित नेपालको विशाल नक्सा हाल आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाइ बन्न पुगेको छ। हरियाली पहाडको भिरमा निर्माण गरिएको नेपालको सीमा रेखा (नक्सा) ले रारा जाने यात्रुहरूको ध्यान आकर्षित गर्नुका साथै सिन्जा क्षेत्रको सुन्दरतामा नयाँ आयाम थपेको छ।

​भौगोलिक रूपमा कठिन र भिरोलो डाँडामा यो नक्सा निर्माण गर्नु सहज थिएन। निर्माण अवधिभर स्थानीय तह र श्रमिकहरूले ठूलो संघर्ष गरेका थिए। गाडी वा मेसिन पुग्न नसक्ने भिरमा खच्चरको प्रयोग गरी बालुवा गिट्टी, सिमेन्ट र अन्य निर्माण सामग्री ओसारपसार गरिएको थियो। झन्डै ६ महिनाको निरन्तर कडा परिश्रम र स्थानीयको साझा प्रयासपछि निर्माण सम्पन्न भएको यो नक्साले अहिले एक वर्ष पूरा गरेको छ। पहाडको भिरमा खच्चरबाट सामग्री बोकाएर बनाइएको यो कलात्मक संरचनाले स्थानीयको अठोट र श्रमको उच्च सम्मान झल्काउँछ।

​मुगुको रारा ताल भ्रमणमा निस्कने पर्यटकहरूका लागि राईके डाँडा अचेल मुख्य पर्यटकीय स्थान बनेको छ। रारा जाने बाटोमै पर्ने भएकाले यहाँबाट हिडडुल स्वदेशी तथा विदेशी पर्यटकहरू एकै छिन रोकिई नक्सालाई पृष्ठभूमि पारेर तस्बिर तथा भिडियो कैद गर्ने गर्दछन्। नेपालका चर्चित सेलिब्रेटीहरू सामाजिक सञ्जालका भ्लगरहरू र सर्वसाधारण पर्यटकहरूले यो स्थानमा खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेपछि राईके डाँडाको चर्चा अझ व्यापक बनेको छ।

​सिन्जा उपत्यका ऐतिहासिक तथा सांस्कृतिक हिसाबले आफैँमा महत्त्वपूर्ण स्थान हो। त्यसमाथि राईके डाँडामा निर्मित यस नक्साले पर्यटकीय सम्भावनालाई अझ उजागर गरेको छ। बाटो हिँड्ने यात्रु तथा पर्यटकहरू फोटो खिच्न रोकिँदा स्थानीय व्यापार चिया पसल र होटल व्यवसाय गरेका ब्याक्ति लाई सकारात्मक प्रभाव परेको छ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस