जुम्लाको सिन्जा गाउँपालिका वडा नं. २ स्थित चुलेल गाउँमा स्थानीय युवाहरूको सक्रियतामा बाटो घाटो तथा पहिरो प्रभावित क्षेत्रको सरसफाइ कार्य सम्पन्न भएको छ। युवाहरुको को नेतृत्वमा आयोजना गरिएको उक्त अभियानमा स्थानीय युवाहरूले स्वत स्फूर्त रूपमा श्रमदान गरेका हुन्।
गाउँमा हुन गइरहेको विशेष देवता पुजाई (मेला) को अवसरमा विभिन्न ठाउँबाट आफन्तजन दर्शनार्थी तथा पाहुनाहरूको ठूलो भिडभाड हुने भएकाले आवतजावतलाई सहज र सुरक्षित बनाउन यो सरसफाइ अभियान सञ्चालन गरिएको गाउँ सरसफाइ टोली ले जनाएको छ।
पहिरोका कारण अवरुद्ध भएका तथा झाडीले ढाकिएका गाउँका मुख्य बाटोहरू सफा गरी कुटो कोदालो को प्रयोगद्वारा बाटो फराकिलो बनाइएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पुजाई पर्वमा बाहिरबाट आउने आफन्त तथा स्थानीयलाई आवतजावतमा कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले युवाहरू एकजुट भई श्रमदानमा जुटेका हुन्।
युवाहरूको यस अनुकरणीय र सामाजिक कार्यको गाउँका बुद्धिजीवी आमा समूह तथा सम्पूर्ण स्थानीयबासीहरूले उच्च प्रशंसा गरेका छन्।
