
जुम्लाको रारा गाउँ मुनिबाटै तिला नदि बग्छ । तिला नदिकै सुसेली सुनेर बिउझिन्छन्, नदि किनारका परिवारहरु । अविरल बगिरहने तिलाबाट पानी खेर गएको गयै छ । तर पाखामा पानी चरम अभाव भइरहेको छ । रारा गाउँका स्थानीय गाउँको डिलमा उभिएर तिलालाई हेर्छन् अनि रुखो खडेरीले माटोमै बिलाउन लागेको बाली देखेर दुखि बन्छन् । रारा गाउँकी स्थानीय रेखा बुढा बस्तिभन्दा थोरै तल रहेको नदिको पानीले सिंचाई गर्न नसकिएको बताउन्छिन् ।
रारा मात्र होइन, जुम्लाका अधिकांश गाउँको कथा समान छ । सिंजा हुदै हिमा नदि बगिरहेको छ, चौधबिस हुदै जवा । अनि पानसय र असि क्षेत्रबाट बग्छ, तिला नदि । हिमाल र पाटन हुदै समुन्द्र भेट्न हिँडेको पानीले पाखामा रहेको रुखो जग्गा जमिनमा सिंचाई गर्न सकिएको छैन । पानी नपाएर स्याउ, ओखर, सिमि आलुले सोचे जस्तो उत्पादन दिन सकिरहेका छैनन् ।
सिंचाईकै अभावमा खेतबारी बाँझो राखेर युवाहरु कमाउन कालापहाड जानुपर्ने तातोपानी गाउँपालिका वडा नम्वर ७ का कृष्ण खड्काले बताए । हिउँदको समयमा लगाइएको खेती आकाशे पानीको भरमा छ । समय समयमा हिमपात भए, उत्पादन हुन्छ, नभए रित्तो बन्नुको विकल्प छैन । उनले भने । सिंचाई अभावमा स्याउले पनि सोच जस्तो उत्पादन दिन नसकेको उनले दुखेसो पोखे ।
जुम्लाका आठै स्थानीय तहमा लाखौं बजेट खर्चेर सोलार लिफ्ट सिंचाई निर्माण नगरिएका होइनन् । प्रदेश सरकार र पालिकाका बजेटबाट निर्माण भएका लिफ्ट सिंचाई दिगो बन्न नसकेर अलपत्र अवश्थामा छन् । सोलारबाट चल्ने लिफ्ट सिंचाई प्रभावकारी नभएपछि विकल्प खोज्न थालिएको छ । जुम्लामा यतिबेला विद्युतीय लिफ्ट सिंचाई निर्माण भइरहेका छन् । विद्युतबाट सञ्चालनमा ल्याइएका लिफ्ट सिंचाईबाट जमिन हराभरा बनेको छ । विगतमा सोलारबाट नचलेपछि अहिले विद्युतबाट लिफ्ट सिंचाई सञ्चालनमा ल्याएर बगैंचामा सिंचाई गर्न थालिएको धौलापानी लिफ्ट सिंचाई उपभोक्ता समितिका अध्यक्ष लक्ष्मिचन्द्र विष्टले बताए ।
नर्वे सरकारको आर्थिक सहयोगमा युएनडिपिको कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा (रेरास) परियोजना मार्फत धमाधम विद्युतीय लिफ्ट सिंचाई निर्माण भइरहेका छन् । स्याउ, ओखर जस्ता फलफुल, रैथाने बालीको उत्पादन बढाउनका लागि विद्युतीय लिफ्ट निर्माण थालिएको छ ।जुम्लाको पातारासी, चन्दननाथ, तातोपानीमा गरि जम्मा ६ वटा विद्युतीय लिफ्ट सिंचाई निर्माण भएको कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा (रेरास)का पृथ्वी बहादुर शाहिले बताए ।
‘जुम्ला हिमाली जिल्ला भएकोले हिउँद याममा हिमपात हुन्छ, घाम राम्ररी लाग्दैन, चाहिएको बेला सोलारले काम नगर्दा किसानलाई सिंचाईमा बाधा पुग्छ, तर विद्युतीय लिफ्ट सिंचाईबाट जतिबेला पनि किसानले सिंचाई गर्न सक्छन्, यो भरपर्दो र दिगो पनि छ ।’ उनले भने ।जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर २ डाँगिबाडामा ४७ लाख लागतमा विद्युतीय लिफ्ट सिंचाई सञ्चालनमा ल्याइएको उनले बताए । यस्तै तातोपानी ६ धौलापानीमा समेत सञ्चालनमा ल्याइएको छ ।
उपभोक्ता समितिबाट चौकिदार राखेर लिफ्ट सिंचाई सञ्चालन भइरहेको छ । फलफुल तरकारी र अन्य खाद्यबालीमा सिंचाईको पुहुँच पुगेकोले उत्पादनमा वृद्धि भई आयआर्जन समेत बढ्ने अपेक्षा गरिएको तातोपानी गाउँपालिका वडा नम्वर २ डाँगीबाडाका किसान नरेन्द्र केसीले बताए । पहिले सुख्खा र रुखो देखिने जग्गा जमिनमा विद्युतीय लिफ्ट सिंचाई पुगेपछि हराभरा हुने विश्वास गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए ।
‘तातोपानी गाउँपालिकामा पहिले नै सोलारबाट चल्ने ८ वटा लिफ्न सिंचाई निर्माण भएका थिए, तर एउटा पनि राम्ररी चलेनन्, हामी पालिकामा आइसकेपछि रेरास सँगको सहकार्यमा विद्युतीय लिफ्ट सिंचाईमा जोड दिनुपर्छ भनेर लागि पर्यो, फलस्वरुप अहिले धौलापानी र डाँगीबाडा क्षेत्रमा पानी पुगेको छ ।’ अध्यक्ष चौंलागाईले भने । नदि माथिका गरा अब हराभरा हुने भनले बताए ।
