स्याउको साम्राज्य जुम्ला

रोजगार र कृषि पर्यटन जोड्दै नेपालकै ठुलो स्याउ बगैंचा

हजारौं एकानासे स्याउका विरुवा, घना बगैंचामा लटरम्म फलेका स्याउ, बिचबिचमा सैयौं स्याउ संकलक । यो दृश्य हो, जुम्ला गुठिचौर ५ जलजला स्याउ बगैंचाको । ३८ हजार विरुवाको लोभ लाग्ने स्याउ बगैंचामा पुग्दा सबै मग्नमुग्ध हुन्छन् । जुम्ला खलंगा बजारबाट १५ मिनेट माटेर यात्रा गरेपछि पुर्वको गुठिचौर गाउँपालिकाको जलजलाको विशाल स्याउ बगैंचामा पुगिन्छ । जवाँ नदि किनारको फाँटमा लहलह मार्सी झुलिरहेका छन् । माथी जलजलाको स्याउ बगैंचा राताम्य छ । नेपालकै ठुलो दाबि गरिएको यो स्याउ बगैंचामा स्याउ संकलन सुरु भएको छ ।

जुम्लामा अहिले स्याउको सिजन चलिरहेको छ । भदौ पहिलो साताबाट किसान स्याउ टिप्न व्यस्त छन् । ७० को दशकमा गाउँगाउँमा साना देखी मझौला स्याउ बगैंचा मात्रै थिए, अहिले उच्च घनत्वका स्याउ बगैंचा समेत थपिएका छन् । जसले रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनमा नयाँ आयाम थपेका छन् । २०७७ साल बाट बगैंचा विस्तारको काम सुरु भएको थियो । हाल सम्म आइपुग्दा झण्डै २५ करोड बराबरको लगानी भइसकेको व्यवस्थापक केसी बहादुर भण्डारीले बताए । ‘यो बहुआयमिक पेशा मानेका छौं, यसले पर्यटनलाई पनि जोडिरहेको छ, मल आवश्यक पर्ने हुँदा गाई भैंसी पालन पनि गर्न सकिन्छ, किरा नियन्त्रणका लागि बगैंचामा कुखुरा छोड्न सकिन्छ । साथै बगैंचामा कोशेबाली पनि लगाउन सकिन्छ ।’ भण्डारीले भने ।
जलजलाको स्याउ बगैंचामा फुजी, किङरङ र गोल्डेन जातका स्याउ छन् । स्याउ सुपरजोन जुम्लाका अनुसार केहि वर्ष यता जुम्लामा आक्रामक रुपमा याउ बगैंचा विस्तार भइरहेका छन् । स्याउ सुपरजोन जुम्लाकको तथ्यांक अनुसार अहिले जुम्लाको ४ हजार २५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । जसमा उच्च घनत्वका बिरुवाहरु पनि लगाउन थालिएको छ । यो वर्ष स्थानीय स्याउ प्रतिकिला ५० र फुजी स्याउ प्रतिकिलो २५० रुपैंया सम्म विक्रि भइरहेको छ ।

इटालियन फुजी स्याउको बगैंचा गाउँघरमै सैयौं जनालाई रोजगारी दिइरहेको छ । स्याउ बगैंचामा २२ जना नियमित काम गर्ने कर्मचारी छन् । सिजनमा २ सय जना सम्मले स्याउको काममा जोडिन्छन् । परिवारको रेखदेख गर्दै आफ्नै ठाउँमा रोजगारी पाउँदा खुसि लागेको स्थानीय सोमन सार्कीले बताए । ‘सँगैका साथीभाई परिवार पाल्नका लागि कोहि भारतमा छन्, कोहि खाडि मुलुक पुगेका छन्, मैले गाउँघरमै बसेर परिवारलाई रेखदेख गर्दै काम गर्न पाएको छु, घरमा कोहि बिरामी पर्दा, समस्या पर्दा आत्तिनुपर्ने स्थिति छैन ।’ उनले भने । उनले अहिले स्याउ फर्म को जीप चलाइरहेका छन् ।

जलजलको लोभ लाग्ने स्याउ बगैंचाले रोजगारी सँगै कृषि पर्यटनलाई समेत जोडेको छ । पर्यटकहरु फुलफुल्ने समय र स्याउ फलेका बेला बगैंचा अवलोकनका लागि पुग्ने गर्छन । बगैंचा भित्रको देब्रे कुनामा पर्यटकका लागि क्यान्टिन सञ्चालनमा ल्याइएको छ । विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणको शिलाशिलामा समेत यहाँ आउनेको गरेको क्यानिटन सञ्चालक लाल बहादुर बोहोराले जानकारी दिए । ‘आगन्तुक पाहुना र कर्मचारीका लागि बगैंचा भित्रै क्यान्टिन सञ्चालनमा ल्याइएको छ, १ सय रुपैंयामा खाना खुवाइरहेको छु ।’ उनले सुनाए । पर्यटकहरु पुगेर स्याउ खाने, लैजाने र भिडियो बनाउने, तस्वीर खिच्ने गर्छन । पुगेका हरु रमाइरमाइ फर्कन्छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस