दुर्गममा शिक्षाको दियो बल्ने मन्दिर ‘हिमाली रम्बा आवासीय स्कुल’

विपन्न र असहाय बालबालिकाको शैक्षिक गन्तव्य हिमाली रम्बा

वरिपरि घना जङ्गल, बिचमा सुन्दर चोत्रा गाउँ । अनि गाउँ छिचोल्दै अघि बढेको छ, डोल्पा हुदै मनाङ मुस्ताङ जोडिने सडक । भोजपत्र, निगालो र कोणधारी बनले घेरिएको शान्त र सुन्दर चोत्रा गाउँको बिचमा विद्यार्थी पढ्न तल्लिन छन् । विगत १ वर्ष अघि सम्म सुनसान हुने चोत्रा गाउँको हिमाली रम्बा आवासीय विद्यालयमा अहिले विद्यार्थी भरिभराउ छन् । पहिले वर्षभरि मुस्किलले ५ जना विद्यार्थी पढ्ने यो विद्यालयमा अहिले कक्षा १ देखि ५ सम्म ४३ जना विद्यार्थीेले अध्ययन गरिरहेका छन् ।
संघीयता पछि स्थानीय तहमा केहि असल अभ्यास पनि भइरहेका छन् । जुम्लाको गुठिचौर १ चोत्रा गाउँको हिमाली रम्बा आवासीय विद्यालय यसको एक उदाहरण हो । शिक्षामा विपन्न र टुहुरा बालवालिकाको पहुँच सुनिश्चित गर्ने पवित्र उदेश्य राखेर दुर्गम चोत्रा गाउँमा हिमाली रम्बा आवासीय विद्यालय सञ्चालनमा ल्याइएको छ । जुम्लाको दुर्गम मानिने गुठिचौर १ र २ का ९ गाउँका विपन्न तथा टुहुरा बालवालिकाले यो विद्यालयमा अध्ययन गर्न पाएको हिमाली रम्बा आवासीय विद्यालयका विद्यालय व्यवश्थापन समितिका अध्यक्ष अंगत रोकायाले बताएका छन् ।
‘गुठिचौर गाउँपालिकाको सिरानमा पर्ने २ वटा वडामा ९ वटा गाउँ छन् । जुम्ला खलंगाबाट निकै टाढा रहेका गुठिचौर १ र २ नम्वर वडाका बस्तीको जीविका पशुपालन र जडिबुटिले धानिएको छ । गाउँमा जडिबुटि संकलनको समय आउदा विपन्न र टुहुरा बालवालिका गोठालो लाग्थे । लालनपालन गरिदिने आश्वासनमा टुहुरा बालवालिकालाई घरायसी काममा लगाइन्थ्यो । उनिहरु अहिले चौत्रा गाउँको हिमाली रम्बा आवासीय विद्यालयमा पढिरहेका छन् ।’ विव्यस अध्यक्ष रोकायाले भने ।
विपन्न र टुहुरा बालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन आवासीय विद्यालय सञ्चालनमा ल्याइएको हो । २०३२ सालमा स्थापना भएको यो विद्यालयले शैक्षिक गुणस्तको लय समात्न ५ दशक लाग्यो । अहिले वडा पालिका, अभिभावक, विद्यार्थी सबैको चासोमा विद्यालय चलायमान देखिएको प्रधानाध्यापक जय बहादुर थापाले जानकारी दिए । ‘दुर्गम यो क्षेत्रमा शिक्षाको अवश्था नाजुक छ, शिक्षाकै कारण यहाँका नागरिक धेरै अवशरबाट बञ्चित भएको महसुस भएपछि विद्यालयलाई व्यवस्थित बनाउने र बालवालिकालाई औपचारिक शिक्षामा जोड्ने चेत पलाएको छ ।’ प्रअ थापाले भने ।
अशिक्षा र गरीबिको भारीले थिचिएका स्थानीय विगत सम्झदा मन दुख्ने बताउन्छन् । विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, विपन्नता र प्राकृतिक विपद्जन्य घटनाका कारण यो भेकका थुप्रै बालबालिका पढाइबाट वञ्चित हुने आएका थिए । तर वडा पालिकाले विद्यालय आवासीय बनाइदिएपछि शिक्षा आर्जनमा अविभावक र विद्यार्थीको मन लगाएतका छन् । हिमाली जिल्ला जुम्लाका धेरैजसो पालिकाहरूले स्थानीय शिक्षा योजना बनाएका छैनन् । गुठिचौर १ चोत्रामा पिछडिएको समुदायका बालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन गत वर्षबाट आवासीय विद्यालय सञ्चालनमा ल्याइएको छ । जीर्ण भवन भत्काएर पालिकाको ५० लाख बजेटमा ४ कोठे भवन, शौचालय, भान्सा निर्माण भइरहेको छ भने भाडाको घरबाटै आवासीय विद्यालय सञ्चालन भइरहेको गुठिचौर १ का अध्यक्ष अर्जुन कुमार महताराले बताए ।
‘तत्कालिन व्यवश्थापनमा वडाले आवश्यक सहयोग गरेको छ, यहाँको मुख्य समस्या समाधान गर्न तत्कालै स्थानीय टेक बहादुर महताराको घर भाडामा लिएर आवासीय विद्यालय सञ्चालन गर्न सफल भयौं ।’ वडा अध्यक्ष महताराले भने, ‘चुनौति धेरै थियो, तर जहाँ इच्छा, त्यहाँ उपाय ।’ निर्वाचनका बेला शिक्षा क्षेत्रमा काम गर्ने बचन दिएको स्मरण गर्दै वडा अध्यक्ष महताराले पहिलो परिवर्तन शिक्षा बाटै सुरु गरिएको बताए । स्थानीय तहले नै २३ जना विपन्न र टुहुरा बालवालिकालाई गास, बास र कपास सहितको सम्पुर्ण रेखदेख गरिरहेको उनले जानकारी दिए । ५ दशक अघि स्थापना भएको विद्यालयले गत वर्ष मात्रै आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ । यसबाटै यो क्षेत्रमा शिक्षाको इतिहास कस्तो थियो भनेर झल्किन्छ ।
२०७९ सालको निर्वाचन पछि वडाले छात्रबाससहितको स्कुल बनाउने गरी कार्यविधि बनाइ त्यसको सफल कार्यान्वयन गराएको छ । बन्द हुने स्थितिमा पुगेको विद्यालय अहिले यो क्षेत्रका विपन्न र टुहुरा बालवालिकाका लागि शैक्षिक गन्तव्य बन्न सफल भएको छ । यद्यपी यसको दिगोपना र व्यवश्थापनमा भने सरोकारवालाले ध्यानदिन आवश्यक छ । विद्यालयले विपन्न र टुहुरा बालवालिकाको दिगो व्यवश्थापनमा कठिनाई आइरहेकोले सबैलाई सहयोगको अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस