कर्णाली लगाएत हिमाली तथा उच्च पहाडी क्षेत्रमा विरही बिम्बको रुपमा न्याउली चरि परिचित छ । चैत, वैशाख र जेठ महिनामा उराठलाग्दा बनपाखामा न्याली चरीको विरही धुन सुनिन्छ । मनको विरह पोख्ने खालको नेपाली लोक गीत र संगितमा न्याली चरीको प्रसंग जोडिएर आएको पाईन्छ । स्थानीय रुपा रावत न्याउली सँग जोड्दै आफ्नो मनको विरह जुम्ली ठाडिभाकामा यसरी पोख्नु हुन्छ,
रुदै मधु बन, न्याउलीले बिरह पोख्यो
क्यान रुन्छै मन, रोयाको सुन्दिन्या को छ
न्याउली चरीको प्रसंग जोडेर कर्णालीमा ठाडिभाका मार्फत विरह पोख्ने गरिन्छ । न्याउली को आवाजलाई भावुकता र दुख सँग जोडेर हेर्ने गरिन्छ । गहिरो दुख, टाढिएका आफन्त, छुटेको प्रेम, विवाह गरेर गएका छोरी चेली तथा परदेशीएका छोराहरु सँग को विषयलाई न्याउलीको विरह सँग जोड्ने गरिएको छ । न्याउली चरिको विरही धुन पछाडी एउटा रोचक कथा पनि लुकेको छ । न्याउलीको खास कथा आमा र छोरा बिच गाँसिएर आउने गर्छ । चैत वैशाख र जेठ महिना बाहेक अन्य मौसममा न्याउलीको आवाज सुनिदैन ।
उजाड र टन्टलापुर घाममा बनपाखा डुल्दा सुनिने न्याउलीको विरही पोख्ने धुनले सबैलाई भावुक बनाउन्छ । अचम्म लाग्दो यो छ कि न्याउली चरीको जोडि एउटै रुखमा कहिल्यै देखिदैनन् । फरक रुखमा बस्ने दुवै न्याउली चरीले भिन्न भिन्न आवाज निकाल्छन् । न्याउली को धुनबारे पाका पुस्तासंग रोचक कथा झुण्डिएको छ । स्थानीय भिम अधिकारी न्याउलीको लोककथा यसरी सुनाउन्छन्,‘सत्य युगमा एक परिवारमा कडा स्वभावकि सासु थिईन । बुहारीलाई मेलामा काम नसकि घर नआउन उर्दी दिएकि थिइन । घरमा दुधे छोरा छोडेर काममा निस्किएकि बुहारी काम नसकिदा घर फर्कन सकिनन् । भोकले छोरा रुन थाल्यो, उसको रुवाईको गर्जन आमाको कान सम्म पुग्यो, सासुको डरले घर फर्कन नसकेकि बुहारीले पख् पख् भनेर बच्चालाई सान्त्वना दिइन ।
धैर्यताको बाँध टुटेपछि छोराको शरिरमा पखेटा पलायो । उ रुदै आमा खोज्दै रुख रुखमा बस्न थाल्यो । तर आमा पख् पख् भन्दै काममा जोतिरहिन । आमाले पनि शरिरमा पखेटा हालेर छोरा खोज्न थालिन तर उनिहरुको कहिल्यै भेट नभएको जनविश्वास छ । त्यसैले एउटै रुखमा न्याउली चरिको जोडि कहिल्यै देखिदैन । यसरी आमा छोरा न्याउली चरी बन्न पुगे ।’
न्याउली चरी संगको लोककथा सुनेरै पनि आफ्नो सन्तान भोकाएको बेला दुध खुवाउन विलम्ब हुँदा एउटी आमाको मन कस्तो हुन्छ होला ! हामी कल्पना समेत गर्न सक्दैनौं । पछिल्लो समय न्याउली चरी देख्ने र यसको बारेमा थाहा पाउने कम छन् । जलवायु परिवर्तनको असर सँगै देशभर न्याउली चरिको संख्या घट्दै गएको चरा विज्ञ बासु बिडारी बताउन्छन् । ‘प्राय चराहरु जलवायु परिवर्तनको असरले लोप हुदैछन्,न्याउली चरी पनि यसबाट अछुत्तो छैन ।’ उनले भने । न्याउली चरिको लोककथा अलिखित रुपमा पुस्ता हस्तान्तरण भइरहनु निकै सोचनीय छ ।
यस्तो छ, न्याउली चरीको लोककथा…
विरह पोख्ने न्याउली चरीको लोककथा
प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस