नयाँ कर्णालीको ‘नयाँ पुस्ता’

आधुनिक र व्यवसायिक पत्रकारिताको विकास गर्ने उदेश्य बोकेर ‘नयाँ कर्णाली’ उदाएको झण्डै एक वर्ष पुग्न लागेको छ । डिजिटल पत्रिका ‘नयाँ कर्णाली’ले यो बिचमा थुप्रै क्षेत्र र विषयमा उडान भरेको छ । समाजमा यति धेरै बहस र छलफल कहिल्यै हुने गरेका थिएनन्, जति अहिले आमसञ्चार माध्यमहरुले गराइरहेका छन् । त्यसको संवाहक अनलाइन मिडिया पनि हुन् । अनलाइन मिडियाको ब्रमाण्डमा नयाँ कर्णाली पनि अस्तित्वमा छ । त्यतिबेलै हामीले उद्घोष गरेका थियौं कि, हाम्रो अस्तित्व र महत्व हाम्रो कर्मले निर्धारण गर्ने छ, भनेर ।
विचारको धर्ति फराकिलो हुन्छ । समय, परिस्थिति र युग अनुसार कर्ममा परिमार्जन आवश्यक छ । अब नयाँ कर्णालीले भिडियो र समाचारमा एउटा नयाँ प्रयोग गर्ने छ, त्यो नयाँ प्रयोगलाई नयाँ कर्णालीको ‘नयाँ पुस्ता’ नाम जुराएका छौं । नयाँ सोच राख्नु पर्छ तर पुराना चिजको अस्तित्व सक्कियो भन्नू पनि गलत हुन्छ । युवा सँग उर्जा हुन्छ, तर अनुभव हुदैन, अग्रज सँग अनुभव हुन्छ तर उर्जा हुदैन । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । युवा देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । तर युवा शक्ति कसैको भक्तिभावमा रुमलिएको छ । नयाँ कर्णालीको ‘नयाँ पुस्ता’ कार्यक्रमले अग्रजको अनुभव र युवाको उर्जा बिच मेल गराउने विश्वास लिएका छौं । यो कार्यक्रमले राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक, आर्थिक, साँस्कृतिक जस्ता विविध पक्षमा नयाँ पुस्ताको उपस्थितिलाई अर्थपुर्ण बनाउने प्रयास गर्ने छ ।
युवाहरू स्वभावैले विद्रोही हुन्छन्, उनीहरुको नशा नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ । यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा नयाँ पुस्ताले अग्रिम भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छौं । तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ भन्ने यो कार्यक्रमको उदेश्य रहने छ । अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ भन्ने वातावरण तय हुने अपेक्षा गरिएको छ । युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ । नयाँ कर्णालीले अब नयाँ पुस्ताका कर्म, विचार र लक्ष्यमा समयको लगानी गर्ने छ । यो कार्यक्रम भिडियो तथा स्टोरीका माध्यमबाट आम पाठक तथा दर्शकमाझ पुग्ने छ ।
युवाका सीप, विचार र योजनाबाट थोेरबहुत लाभ मिल्ने आशा गरिएको छ । युवा भ्रममा बाँच्दैन, अनुमान गरेको कुरालाई आधार मानेर आफ्नो धारणा बनाउँदैैन, युवाले त निरन्तर खोज, अनुसन्धान तथा अन्वेषण गरेर सत्यतथ्य पत्ता नलागुञ्जेल कुनै पनि विषयमा आफ्नो धारणा बनाउँदैन । यो सत्यलाई स्थापित गर्न आउनुहोस् नयाँ कर्णालीको कार्यक्रम ‘नयाँ पुस्ता’ मा हातेमालो गरौं ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस