जलस्रोतको समुचित प्रयोग र संरक्षणका लागि पातारासीमा जल कचहरी

पानीका स्रोत ४ सय ९५ तर ३ सय ६६ वटा प्रयोग विहिन

जुम्ली समाजमा कुनै समस्या सिर्जना भए सामुहिक छलफल द्धारा समाधान गर्ने परम्परा युगौंदेखि स्थापित छ, जसलाई ‘कचहरी’ भनिन्छ । विशेषतः सार्वजनिक चासो र महत्वका विषयमा कुनै बाधा, अड्काउ वा समस्या आइलागे समाधानका लागि कचहरी अन्तिम विकल्पका रुपमा लिइन्छ । पछिल्लो समयमा पानीका मुहान सुक्दै जानथालेपछि जुम्लाका स्थानीय जल कचहरीमा जुटेका छन् । जलवायु परिवर्तन, वन फडानी र जथाभावी डोजरको प्रयोगले पानीका मुहान सुक्दै जान थालेपछि जुम्लाको पातारासी गाउँपालिकामा जल कचहरीको सुरुवात गरिएको छ ।
पानीको प्रर्याप्तता घट्दै जान थालेको भन्दै जलस्रोत व्यवश्थापनका सवालमा जुम्लाको पातारासीमा पहिलो पटक जल कचहरी गरिएको हो । पानीका मुहान संरक्षण देखि खानेपानी, सरसफाई र स्वच्छताका विषयमा पालिकामा नीति निर्माण का लागी जल कचहरी को सुरुवात गरिएको हो । किर्डाक नेपालको सुमात्रा परियोजनाले एक वर्ष देखि जलका क्षेत्रमा काम गर्दै आएको छ । पातारासी र किर्डाक नेपालको साझेदारीमा जल उपभोग, मुहान संरक्षण, सरसफाई र स्वच्छताका क्षेत्रका नीति निर्माण र दिगो व्यवश्थापनका लागी जल कचहरीलाई अगाडी बढाइएको किर्डाक नेपालका नीति निर्माण विशेषज्ञ माधवजंग महतले बताए ।
सुमात्रा परियोजनाले जलका क्षेत्रमा तथ्यमा टेकेर काम गरिरहेको गैर सरकारी संस्था किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले बताए । सुमात्रा परियोजनाले पातारासी गाउँपालिकाका पानी का स्रोतको तथ्यांक समेत संकलन गरेकोे छ । सुमात्राकोे तथ्यांक अनुसार ७ वटा वडा भएको पातारासी गाउँपालिकमा पानीका स्रोत कुल ४ सय ९५ वटा छन् । जस मध्ये १ सय २९ वटा मात्रै प्रयोगमा छन्, तर ३ सय ६६ वटा मुहान प्रयोगमा छैनन् । यस बाट नै पातारासीमा जलको भरपुर उपभोग हुन सकेको छेन भनेर पुष्टि हुन्छ । कुल ४ सय ९५ पानी स्रोत भएको पातारासी भित्र २ वटा नदि २ सय ४१ वटा मूल, २ सय ३३ वटा साना खोल्सा, र १९ वटा ठूला खोल्सा रहेका छन् । पातारासीमा कतिपय मुहान सुकेको र कतिपय सुक्दै गएको कार्यक्रम अधिकृत महतले बताए ।
जल कचहरीमा सामेल स्थानीय तारा बहादुर बोहोरा भन्छन्, ‘पातारासीमा पानी उपभोगका क्षेत्र व्यापक छ, जल उर्जाका रुपमा रहेका परम्परागत पानी घट्ट, लघु जलविद्युत, माछा पोखरी, जीव जनावर, सिंचाई, खानेपानी तथा सरसफाई सबैका लागि जल आवश्यक छ, यसको उचित व्यवश्थापन आजको आवश्यकता हो, पानीबाट सोचेजति लाभ लिन सकिएको छैन ।’ जलस्रोत व्यवश्थापनका लागि जुम्लामा पहिलो पटक जलकचहरी भएको बोहोराले बताए । पानीको समस्या चुलिदै गएकोले स्रोत व्यवश्थापनमा यो कचहरीले टेवा पुर्याउने उनको विश्वास छ । ‘पानी सँग जीवन जोडिएको छ, पातारासीबासीको जीविका समेत जोडिएको छ, जुम्लाको अन्न भण्डार पातारासी जमिन र पानीमै निर्भर छ, तर समुचित प्रयोग भने हुन सकिरहेको छैन, यस तर्फ सबैले ध्यान दिनुपर्छ ।’ राजनितिज्ञ भक्त बहादुर बुढाले भने । समयमै पानीका स्रोत को संरक्षण नभए निकट भविष्यमा संकट आइलाग्ने उनले बताए ।
स्थानीय, जनप्रतिनिधि, सरोकारवाला सबैको सहभागितामा सञ्चालन भएको कचहरीबाट ‘खानेपानी, स्वच्छ जीवनका लागि’ भन्ने नारा का साथ १४ बुँदे घोषणा पत्र समेत समेत जारी गरिएको छ । पालिकामा निर्माण हुने खानेपानी, सिंचाईका आयोजनालाई दिगो बनाउनुपर्नेमा जोड दिइएको छ । खानेपानी तथा स्वच्छताका समस्या समाधान गर्दै पातारासी गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख पालिका बनाउन स्थानीयले सुझाव समेत दिएका छन् ।
पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले पातारासीमा खानेपानी तथा सरसफाई ऐन बनाउने तथा जलस्रोत संरक्षण तथा व्यवश्थापनमा प्रतिवद्ध रहेको बताएका छन् । मानवीय गतिविधिले मुहान सुक्न थालेको भन्दै उनले बन फडानी र डोजर आतंकलाई रोक्ने बताए । पालिका स्तरीय जलस्रोत व्यवश्थापन समिति र कार्यदल बनाइएको बताउदै अध्यक्ष बोहोराले यो संरचनालाई समेत चलाएमान बनाउने बताए ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस