सुख दुखका कथा बोल्ने ‘ठाडिभाका’

लोकलयको परम्परागत प्रयोग ठाडिभाका

पानसय पाटन छेउको डाडाँखर्क वनमा एउटा सुरिलो स्वरमा ठाडिभाका गुञ्जिन्छ ।
पुर्सो डाँफे इज्जर खन्दो, माउ डाँफे जिलाउदो
कुहिरोजन लाग्न्या माया, हिँउजन बिलाउदो….
सुख्खा वातावरण, उराठलाग्दो बनपाखा तर गम्नमुग्ध बनाउने ठाडिभाका । भेडाको बथान सँगै डाडाँखर्कमा ठाडिभाका घन्काउदै भेटिए, तातोपानी ७ का कृष्ण खड्का । वाल्यवश्थाबाटै भेडिगोठमा बस्न सुरु गरेका कृष्ण आफ्नौ मनको बह पोख्न रैथाने लोकलयमा रमाउने गर्छन । जीन्दगीका छालहरु सँगै बगेका सुख, दुखहरुको वेगले जब स्मृतिको समुन्द्रमा पुर्याउन्छ, तब एकाएक ठाडिभाकाका टुक्काहरुमा विगत देखिन्छ ।
पाक्या फल चरिले खायो, काँचो फल रुखै छ….
जहाँ सम्म परानी रहला, त्याँ सम्म दुखै छ….

यात्राका कुरा, अनुभूतीका कुरा, गाउँ बस्तीका कुरालाई खषभाषामा संयोजन गरेर मेलापात, बनजँगलमा महिला र पुरुषहरुले समुहमा समेत ठाडि भाका गाउन्छन् । खष भाषा र सभ्यताको जननी जुम्लामा परम्परागत लोकलय ठाडिभाका निकै लोकप्रिय छ । ठाडिभाका यहाँको परिचय र पहिचान पनि हो । यसले नेपाली भाषाको उद्गमथलो जुम्लाको परिचय मात्रै दिदैन, यहाँको सँस्कृति र जीवन पद्धतीको बारेमा समेत सूक्ष्म तरिकाले चिनाउने काम गर्दछ ।
ठाडिभाकाले आफ्नो माइतिर, साथी, संघीको सम्झना मेटाउँछ, दुख भुलाउन्छ । स्थानीय हस्तना न्यौपानेले भनिन् ।
पाक्या फल चरिले खायो, काँचो फल रुखैछ……..
जहाँ सम्म परानी रहला, त्यहि सम्म दुखै छ……..

जुम्ली परिवेश, भूगोल, दुख, कष्ट, सामाजिक रहनसहन र समाजलाई विषयबस्तु बनाएर ठाडिभाका गाउने गर्दछन् । ठाडिभाका लाई जुम्लामा मात्र नभइ कर्णाली क्षेत्रमै महत्वपुर्ण विधाका रुपमा लिइन्छ ।
जाउ कल्लेनी अल्का लेक, खाउ कल्लेनी बुकि…….
आमाका उज्याला कोख, क्या जन्म्याहुँ दुखी…….

ठाडिभाका एक पुस्ताले अर्को पुस्तामा विधिवत रुपमा हस्तान्तण गरिदैन, तर यो स्वत एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण हुदै जाने विधा हो । पछिल्लो समय जुम्ला खलंगा आसपास कमै गाइने ठाडिभाका ग्रामिण क्षेत्रमा भने अहिले पनि सुन्न र गाउन रुचाउनेहरु प्रसस्तै छन् ।
न्याउली रुँदै बन, म रुँदै दुनियाँ सामु…….
क्यान रुन्छै मन, रोएको सुन्दिन्या कोई नाई…….

कर्णालीको लोकलय क्षेत्रमा ठाडिभाका एक बलियो विद्या हो । अभिन्न अँग हो । ठाडि भाका यहाँको पहिचान पनि हो । हरेक क्षेत्रको पृथकतालाई सम्मान गर्नुपर्छ ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस