
बर्दिया र बाँके …….
क्यासेटमा पुरानो लोकभाका गुञ्जिरहेको छ, यत्रतत्र छरिएका कालिज, रैथाने कुखुरा र हाँसले चिरबिर आवाज निकाल्दैछन् । तातोपानी ४ का लक्ष्मीप्रसाद उपाध्यायलाई हाँस, कुखुरा र कालिजलाई चारो हाल्न भ्याईनभ्याई छ । चर्दै चर्दै परपर पुगेका कालिज चारो देख्ने बित्तिकै बजोडले कदेर एक ठाउँमा जम्मा हुन्छन् । ‘कुखुरालाई बढी चारो आवश्यक पर्छ, तर कालिज कुखुराको तुलनामा कमै खान्छ ।’ चारो छर्दै लक्ष्मीप्रसादले सुनाए । हामी फार्म बाहिर गएपनि पंक्षीलाई मान्छे फार्म मै छन् भन्ने लागोस् भनेर क्यासेटमा गीत बजिरहन्छ, यसो गर्दा स्याल, कुकुर, बन बिरालो फार्ममा पस्न सक्दैनन् ।’
जुम्लाको तातोपानी ४ गौतमबाडाका लक्ष्मीप्रसाद उपाध्यायले दुई वर्ष अघिबाट १ करोड लडानीमा कालिज, कुखुरा र हाँस पालन सुरु गरेका हुन्, । उनको गौतम पशुपंक्षि पालन फर्मबाट गत वर्ष मात्रै २० लाख सम्म आम्दानी भयोे । हिमाली जिल्ला जुम्लामा कालिज र कुखरा पालन फस्टाउदै गएको उनले जानकारी दिए । मुगु, हुम्ला, र जुम्लाको बजारलाई केन्द्रित गरि १ करोड लगानीमा सुरु गरिएको कालिज र कुखरा पालन बाट राम्रो आम्दानी हुन थालेको उपाध्यायले बताए ।
यो वर्ष फर्ममा ५ सय कालिज, ६ सय रैथाने कुखुरा र २५ वटा हाँस छन् । प्रति कालिज २ देखि ३ हजार र रैथाने कुखुरा २ हजार देखि २ हजार ५ सय रुपैंया सम्ममा विक्रि हुन्छ । यो वर्ष बेच्ने तयारी हुदैछ । ‘खानको लागी हामी जुनसुकै समयमा कालिज, कुखुरा उपलब्ध गराउन सक्छौं, तर चल्लाका लागि चैत महिना कुर्नुपर्ने हुन्छ ।’ उनले भने । चिसो मौसममा चल्ला उत्पादन गरेपनि बचाउन मुस्किल पर्ने उनको अनुभव छ ।
फर्ममा चल्ला निकाल्ने ह्याचरी समेत राखिएको छ । फर्मबाट कालिज, कुखुरा निर्यात गरिन्छ, तर आयात हुदैन । चार लाख लागतमा ह्याचरी किनेपछि बाहिर बाट चल्ला आयात गरिएको छैन । सुरुवातमा २ सय कालिज, २ वटा कुखुरा ल्याइएको थियो, त्यसपछि आयात गरिएको छैन, मात्रै निर्यात हुदै आएको उनले बताए ।
जुम्लामा स्थानीय जातको कुखुराको मुल्य ब्रोइलरको तुलनामा महँगो छ । १ देखी डेढ किलो औसल तौल हुने रैथाने कुखरा हुर्कन भने समय लाग्छ । झण्डै ६ महिनामा बेच्न लाएक हुन्छ । प्रतिकिलो १ हजारमा विक्रि हुन्छ । ‘स्वस्थ र मिठोका दृष्टिले ब्रोइलर लगाएतका आयातित कुखुरा भन्दा रैथाने काठे कुखुरा निकै राम्रो हुन्छ, तर यसको तौल कम हुन्छ, मुल्य बढी पर्न जान्छ, यसका पारखी बढिरहेका छन् ।’ उनले राजधानी सँग भने ।
जुम्ला स्थानीय तह र पशुपंक्षी सम्बद्ध निकायले व्यवसायिलाई प्रोत्साहन गर्न चुकिरहेको उपाध्यायको गुनासो छ । जुम्लाका आठै स्थानीय तहले नागरिकलाई चल्ला वितरण गर्दा कमिसनको लोभमा जिल्ला बाहिर बाट आयात गर्ने प्रवृत्ती रहेको उनको गुनासो छ । ‘तराईबाट चल्ला ल्याउदा बाटोमा मर्ने र महँगो पर्ने हुन्छ, तर स्थानीय तहले बाहिरै बाट ल्याइरहेका छन्, यो हामी व्यवसायिलाई निरुत्साहन गरिएको ठान्छौं ।’
सरकारले तालिम, कच्चा पदार्थ आयात जस्ता कुरामा सहुलियत दिनुपर्ने व्यवसायिहरु को माग छ ।