
असोज २१, २०८०
समुन्द्रि सतहबाट २ हजार ९ सय मिटर उचाईको जुम्लाको मिनि गुठिचौरमा पुग्दा सडकको दक्षिणी भागमा १४ हजार विरुवाको लोभलाग्दो स्याउ बगैंचा देखिन्छ । भेडिगोठ, गाईभैंसी बेसी झरेपछि पाटन सुनसान छ, तर पाटन छेवैको स्याउ बगैंचामा निकै चहलपहल छ । कारण, स्याउ टिपिदै छ । राताम्य बगैंचा भित्र स्याउ टिप्नेहरुको कोलाहल सडक छेउ सम्मै मज्जाले सुनिन्छ ।
यतिबेला जुम्लाका लेकाली क्षेत्रमा स्याउ टिप्ने चटारो छ । बेसीमा स्याउ रित्तिदा लेकाली क्षेत्रमा भने भर्खरै स्याउ टिप्न सुरु गरिएको छ । तिन वर्षअघिबाट स्थापित मिनि गुठिचौरको १४ हजार विरुवाको एकिकृत फुजी स्याउको बगैंचाबाट पहिलो वर्ष स्याउ टिपिदैे छ । मिनि गुठिचौरको यो बगैंचाले सैंयौलाई रोजागारी दिएको छ भने कृषि पर्यटनलाई समेत जोडिरहेको छ ।
हिमाली टि एण्ड एग्रो फार्मले २२ हेक्टर क्षेत्रफलमा १४ हजार फुजी स्याउ रोपेपछि एकातिर यहाँका स्थानीयले रोजगारी पाएका छन्, भने अर्कोतिर कृषि पर्यटनमा सकारात्मक लहर ल्याएको छ । उच्च घनत्वका स्याउ बगैंचाले गाउँघरमै रोजगारी सृजना गरेको । केहि हदसम्म बेरोजगारी कम भएको युवा लक्ष्मण सुनारले बताए । ‘स्याउ बगैंचाकै काम गर्न भारतको हिमाचल प्रदेशको सिम्ला, साङ्ला, रिंकाङ, रुडु, कोठखाई पुग्नेहरु अहिले गाउँकै बगैंचामा काम गरिरहेको भेटिन्छन्, गुठिचौरमा ठुला दुई एग्रो फमले सिजनमा हजारौंलाई रोजगारी दिइरहेका छन् ।’ उनले सनाए ।
हरेक दिन १६ जना कर्मचारीले बगैंचा व्यवश्थापन गरिरहेका छन् । सिजनमा सयौं जना सम्म बगैंचामा काम गर्छन । यो वर्ष मिनि गुठिचौरको बगैंचाबाट ४० टन सम्म उत्पादन र ७० लाख सम्म आम्दानी हुने अनुमान गरिएको छ । व्यापारीले बगैंचामै प्रतिकिलो २ सय ५० रुपैंया दिन तयार छन्, तर आफै काठमाण्डौ पुर्याउने तयारी गरिएको सञ्चालक टंक गिरिले जानकारी दिए । ‘करोडौंको लगानीमा केवल नाफालाई मात्रै हेरेका छैनौं, आम्दानी सँगै रोजगारी र कृषि पर्यटनको आधारतय गर्नका लागि यो उचाईमा बगैंचा स्थापना गरिएको हो ।’ गिरिले भने ।
बगैंचा भित्र जडिबुटी खेती, बाहिर कालिज पालन, होटल सञ्चालन, माछा पालनको पनि तयारी थालिएको सञ्चालक गिरिले बताए । नजिकै पर्याप्त पानीको सुविधा भएकोले बहुआयमिक व्यवसायको प्रचुर सम्भावना रहेको उनको भनाई छ । उनि भन्छन्, ‘कालिज पालनका लागि जमिन छुट्टाएर राखिएको छ, च्यांग्रा पालन र रेम्बो ट्राउट माछा पालनका लागि अध्ययन पनि गरिएको छ ।’ साथै आगन्तुक पाहुनाका लागि व्यवस्थित होटल समेत सञ्चालनमा ल्याईदै छ । उनकानुसार मिनि गुठिचौरको बगैंचा भ्रमण गर्ने पर्यटकले बगैंचा भित्र आफ्नो क्षमता अनुसार जतिपनि स्याउ खान सक्ने छ, तर लिन पाउने छैन, यो काइदाका लागि ५ सय रुपैँया शुल्क लिइने सञ्चालक गिरिले बताए ।
बगैंचा पाटनको छेउमा भएकोले असिनाको जोखिम रहेको फार्मका प्राविधिक हिक्मत रोकाया बताउन्छन् । स्याउमा दादे, डढुवा, पेपरीवार्क लगाएतका रोगको प्रकोप रहेको छ । प्राकृतिक जोखिमबाट किसान सुरक्षित हुनका लागि फुजी स्याउलाई बिमाको दायरा भित्र ल्याउन सरकारी प्रयास आवश्यक रहेको छ । जुम्ला अर्गानिक जिल्ला भएकोले बगैंचामा देखिएका रोगकिरा को जैविक विधिबाटै निराकरण गर्नुपर्ने स्याउ सुपरजोन जुम्लाका कृषि अधिकृत विनिता श्रेष्ठले बताईन । बगैंचा व्यवश्थापनमा ध्यान दिनसके रोगकिराको प्रकोप स्वत घट्ने उनको सुझाव छ ।
कचौरा आकारको विशाल फाँट गुठिचौर हेर्न पुग्ने पर्यटकहरु यो बगैंचामा पुगेर तस्वीर लिने, टिकटक बनाउने र स्याउको स्वाद लिने गर्छन । पुस, माघमा हिमाल छोड्नेहरु अहिले जुम्ला पुगेका छन् यसका अलवा यो बगैंचामा विद्यार्थीहरु पनि अवलोकनमा पुग्ने गरेका छन् । यो बगैंचाले रोजगारी सँगै कृषि पर्यटनलाई जोडेको छ ।