महाकविको ‘मुनामदन’मा झैँ तिब्बत पुग्ने चोत्रा गाउँका मदनहरुको कथा

जुम्लाको अन्तिम गाउँ चोत्रा

वैशाख ३१, २०८०
जुम्ला खलंगाबाट कचौरा आकारको विशाल फाँट गुठिचौर हुदै दुधकुण्डली तालबाट बगेको खोला पछ्याउदै ३ घण्टाको मोटर यात्रा पछि जुम्लाको अन्तिम गाउँ चोत्रा पुगिन्छ । टाढै बाट मुगाल समुदायको पहिचान झल्किने ध्वजाले स्वागत गर्छन । चोत्रा गाउँ पुग्दा एक हुल महिलाहरु भेटिए । उनिहरुले खस्रुको जँगलबाट ढोकाया साग संकलन गरि बोकेका थिए । महिलाहरुले सुनाए,‘जँगलमा पाईने रुगासाग, न्युटो, ढोकाया, निगली साग यहाँका अतिरिक्त सागपातहरु हुन, सुख्खा हिउद कटाउन वर्षा याममा संकलन गर्नु पर्ने हुन्छ ।’ ढोकाया अर्थात जँगली साग, वर्षायाममा संकलन गरेको यो सागले सुख्खा हिँउदमा चोत्राबासीको भोजन मिठो बनाउन्छ । त्यसो त, जँगलमा पाइने साग देखी जडिबुटि खाएका चोत्रा बासी अरु भन्दा बलिया देखिन्छन् । समुन्द्रि सतहबाट ३ हजार मिटरको उचाईमा अवस्थित चोत्रामा चिसोले वर्षमा एकमात्रै बाली पाक्छ ।
चोत्रा गाउँमा जिविकोपार्जनका लागी दुइ विकल्प मात्रै छन्, जडिबुटि संकलन र व्यापार । ‘बढी हिउँ पर्ने, चिसो अत्यधिक हुने हुँदा १२ महिनामा एक बाली मात्रै पाक्छ, झण्डै एक दशक भयो, गाउँमा परम्परागत खेती त्यागेर सबै व्यापार र जडिबुटि सँकलनमा लागेको ।’ स्थानीय हिमा रोकायाले भनिन् । असोज कार्तिकमा सेतो चिनि संकलनको चटारो हुन्छ भने वैशाख लाग्नासाथ चोत्रा गाउँ सुनसान हुन्छ । यार्सा संकलनका लागी महिला पुरुष सबै पाटन पुग्छन् । महिनामा लाखौं आम्दानी हुन्छ । तर कतिपयले पाटनमै कमाई खर्च पनि गर्छन । पुरुषको फजुल खर्च रोक्नका लागी भएपनि महिलाहरु साथमा पाटन पुग्ने गरेको निमा महाताराले बताइन ।
चोत्राबासीको आफ्नै रहनसहन छ, भाषा पनि आफ्नै । उनिहरुको खामभाषा अन्य भाषिहरुलाई बुझ्न भने कठिन हुन्छ । उनिहरु नेपाली भाषा बोल्छन् र सहजै बुझ्छन् पनि । चोत्रा गाउँका पुरुषहरुको अर्को परम्परागत पेशा हो चिन सँगको व्यापार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ मा जस्तै चोत्रा गाउँका मदनहरु व्यापार गर्न तिब्बत पुग्छन् । ‘चिनको भाषा सँग चोत्राबासीको भाषा हुबहु मिल्दैन, तर चिनियाँहरुले भनेको हामी बुझ्छौं, हामीले अभिव्यवक्त गरेको कुरा उनिहरुले पनि आँशिक बुझ्न सजिलै व्यापार गर्न सकिन्छ, चिनियाँ र हामीलाई आवश्यकताले जोडेको छ । स्थानीय फुर्वाछिरिङ महाताराले सुनाए ।
चिन सँग हुबहु भाषा नमिले पनि आवश्यकताले जोडेको छ । यार्सा, लत्ताकपडाको व्यापार गर्न चिन पुग्नेहरु त्यहाँको वातावरण, व्यापारशैली सँग परिचित हुन्छन् । गुठिचौर गाउँपालिका १ को चोत्रा लगाएत उपल्ला बस्तीहरुलाई विकास र प्रविधिमा जोड्न पालिकाले विशेष प्राथमिकता दिने अध्यक्ष दान बहादुर बुढाले बताए । ‘गुठिचौर गाउँपालिकाका उपल्ला बस्तीहरुको जनजीवन निकै कष्टकर छ, प्राकृतिक रुपमा धनि यि बस्ती शिक्षा, स्वास्थ्य, सञ्चार लगाएका सुविधा बाट टाढा छन् यि क्षेत्रलाई पाँच वर्षको कार्यकालमा विशेष प्राथमिकतामा राखिने छ ।’ गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए । प्रकृतिको बरदान जडिबुटीले सप्रिएको चोत्रा गाउँमा बाहिरका स्थानीयले अव्यवस्थित जडिबुटि संकलन गरिददा भण्डार रित्तिने चिन्तामा छन् । जडिबुटिको उचित संरक्षण र समुचित प्रयोग हुने वातावरण तय गरिदिन उनिहरुको माग छ ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस