बडादशैंको पहिलो दिन अर्थात आज घटस्थापनाको पावन अवसरमा जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा परम्परागत रीतिरिवाज अनुसार नयाँ लिङ्गो ठड्याइएको छ। चन्दननाथ नगरपालिका भित्र रहेको ऐतिहासिक तथा धार्मिक धरोहरको रूपमा परिचित यी मन्दिर परिसरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भव्य उपस्थिति रहेको थियो।
हरेक वर्ष घटस्थापनाको दिन चन्दननाथ र भैरवनाथ बाबाको मन्दिरमा पुरानो लिङ्गो ढालेर ध्वजा नेजा सहित नयाँ लिङ्गो ठड्याउने परापूर्वकालदेखिको परम्परा रहँदै आएको छ। स्थानीय बासिन्दा गुठीयार नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा नगर प्रहरी सहित सर्वसाधारणको प्रत्यक्ष सहभागितामा भजनकीर्तन र बाजागाजाका साथ लिङ्गो हालिएको हो।
तस्वीरमा देखिए अनुसार मन्दिर परिसरमा सुनौलो गजुर र मन्दिरको सिँगारपटारले वातावरणलाई झनै धार्मिक र मनमोहक बनाएको छ। भक्तजनहरूले विजयदशमी तथा नवरात्रिको शुभकामना आदानप्रदान गर्दै पूजा अर्चना गरेका छन।
लिङ्गो फेर्ने यो विशेष कार्यले जुम्ला जिल्ला भरि नै दशैं को औपचारिक आगमन र रौनकता छाएको सन्देश दिएको छ। कर्णाली क्षेत्रकै धरोहरको रूपमा रहेको यस चन्दननाथ मन्दिरमा घटस्थापनादेखि पूर्णिमासम्म विशेष पूजाआजा र मेला लाग्ने गर्दछ।
यस धार्मिक अनुष्ठानले समग्र जुम्ला जिल्लाको सांस्कृतिक निरन्तरता सामाजिक सद्भाव र धार्मिक आस्थालाई अझ मजबुत बनाएको छ।
