हिमा गाउँपालिका प्रवक्ता शाहीको ३४औँ जन्म दिन गाउँले र युवाको श्रमदानमा बाटो मर्मत विद्यार्थीलाई सामग्री वितरण

हिमा गाउँपालिका १ का वडा अध्यक्ष तथा हिमा गाउँपालिकाका प्रवक्ता रतन बहादुर शाहीले आफ्नो ३४ औं जन्मदिन समाजसेवा र श्रमदान गरी मनाएका छन् । जुम्ला जिल्लाको हिमा गाउँपालिका १ स्थायी घर भएका शाही बुबा जयधन शाही र आमा गंगा देवी शाहीका माहिला छोरा हुन् । उनी जिल्ला भर मात्र नभई समग्र प्रदेशभर नै एक लोकप्रिय विकासप्रेमी युवा नेताको रुपमा चिनिन्छन।

​आजको दिनलाई खास बनाउने उद्देश्यका साथ उनले कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुका बीचमा जन्मदिन मनाएका छन। सोही अवसरमा उन्ले विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्रीहरू कापी कलम र डिक्सनरी वितरण गरेका छन् । सामग्री पाउँदा विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी र शिक्षकहरूको समर्थनले जन्मदिन साँच्चिकै विशेष बनाएको महसुस गरिएको छ ।

​कार्यक्रमका दौरान शाहीले विगत केही समय अघि बर्षाका कारण भत्किएको विद्यालयको खेल मैदान सफा गर्ने कार्यमा पनि सक्रिय भूमिका निर्वाह गरे । गाउँका सम्पूर्ण युवाहरूको सहयोगमा भत्किएको ठाउँको माटो उठाएर राजमार्गबाट गाउँ जाने बाटो मर्मत समेत गरिएको हो । यस पुन्य कार्यमा विद्यार्थी शिक्षक स्थानीय युवा तथा बुद्धिजिवीहरूले श्रमदान गरी ठूलो सहयोग पुर्याएका थिए ।

​श्रमदान गरिरहेका युवाहरूले भने हामीले जहिले पनि जन्मदिनको नाममा केक काट्ने र अनावश्यक खर्च गर्ने चलन देखेका थियौं । आज वडा अध्यक्ष शाहीले आफैं अग्रसर भएर समाजका लागि केही गरौं भन्ने सन्देश दिनुभएको छ । यसले हामी युवाहरूलाई समाजसेवामा समर्पित हुन प्रेरणा दिएको छ र वडा अध्यक्ष प्रति अझ बढी सम्मान र विश्वास जागेको छ ।

​यस अवसरमा उपस्थित अन्य गन्यमान्य व्यक्तिहरूले पनि वडा अध्यक्षको कार्यको उच्च प्रशंसा गरे । कालिका आधारभूत विद्यालयका प्रधानाध्यापकले भने शाही जी एक उदाहरणीय युवा नेता हुनुहुन्छ जसले आफ्नो व्यक्तिगत खुसीलाई सामाजिक हितसँग जोडेर जन्मदिन मनाउने नयाँ परम्परा बसाल्नुभएको छ । यसले विद्यार्थीहरूमा पनि समाज प्रतिको दायित्वको भावना विकास गर्नेछ ।

​वडा अध्यक्ष शाहीको यस अनुकरणीय कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ । जन्मदिन जस्ता व्यक्तिगत खुसीका दिनलाई समाजसेवामा समर्पित गरेर मनाउने उहाँको यो कदमको सबैले प्रशंसा गरिरहेका छन् ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस