भारतसँग नेपालले फाइनल खेल्दै

नेपाली महिला टिमले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको फाइनलमा भारत सँग खेल्दै छ । नेपालले मंगलबार (हिजाे) राखेप कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गरेको थियो । 
नेपालले इरानी टिममाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकाल्यो । नेपालले बुधबार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले मंगलबार नै पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमै पराजित गरेको थियो । भारतले २५–१५, २५–१६, २५–२३ को सेटमा जित पाएको हो ।
‘हामी वर्चस्व जमाएर खेल्नुपर्छ भनेर आएका थियौं, त्यसले पनि हाम्रो खेलमा सहयोग पुग्छ जस्तो लाग्छ । हामी दोस्रो सेटमा पछाडि पर्दा पनि यो सिद्धान्तले काम गरेको थियो, आक्रामक खेल्नुपर्छ भन्ने टिमले नै बुझेर खेलेकाले सोझो सेटमा सफलता हात पार्न सफल भयौं,’ खेलपछि नेपालकी कप्तान अरुणा शाहीले भनिन्, ‘हामीले इरानलाई अघिल्लो खेलमा पनि तीन सेटमै पराजित गर्नुपर्थ्यो, तर आफ्नै कमीकमजोरीले खेल हार्न पुग्यौं ।’
५ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिनको लिगमा नेपालले भारतमाथि ५ सेटको प्रतिस्पर्धामा ३–२ को नतिजा निकालेको थियो । नेपालले उक्त खेल २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले आफ्नो पक्षमा पारेको थियो । भारतमाथि नेपालको यो पहिलो जित थियो । यही लय कायम राख्दै भारतमाथि फाइनलमा अर्को विजय हात पारेमा नेपालले आफ्नो भलिबल इतिहासमा सवैभन्दा ठूलो सफलता पाउने छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस