जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना हुनेः स्थानीय ज्ञान, कला र समकालीन समाजलाई जोड्ने नयाँ प्रयास

कुटिरो रिसर्च को आयोजनामा कर्णालीको सांस्कृतिक तथा ऐतिहासिक केन्द्र जुम्लामा सीमान्त साहित्य सम्मेलन आयोजना हुने भएको छ। किनारादेखि केन्द्रसम्मको वैचारिक भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यो सम्मेलनले सीमान्तकृत समुदायका आवाज विचार ज्ञान र साहित्यलाई बहसको केन्द्रमा ल्याउने उद्देश्य राखेको छ।

​अहिलेसम्म सीमान्तकृत समुदायका कला संस्कृति र सीपको संरक्षणसम्बन्धी चर्चा प्राय पुरानो संस्कृति बचाउने वा परम्परा जोगाउने सीमित दायरामा मात्रै खुम्चिने गरेको छ। तर जुम्लामा हुन गइरहेको यस सम्मेलनको अवधारणा भने त्यो परम्परागत दायरा भन्दा निकै फराकिलो र आधुनिक रहने आयोजकले जनाएका छन्। मौलिक कला साहित्य सीप र स्थानीय ज्ञानलाई केवल संग्रहालयमा सजाएर थन्क्याउने नभई त्यसलाई समकालीन समाज आधुनिक जीवनशैली र बजारसँग जोड्दै नयाँ पुस्ताका लागि उपयोगी र जीवन्त बनाउनु सम्मेलनको मुख्य मुद्दा रहेको छ।

​यस सम्मेलनले बहुआयामिक क्षेत्रका व्यक्तित्वहरूलाई एउटै वैचारिक थलोमा ल्याउने प्रयास गर्नेछ। अनुसन्धान गर्ने विद्यार्थी लेखक साहित्यकार कलाकार अध्येता पत्रकार शिक्षक स्थानीय ज्ञानका जानकार तथा युवाहरूलाई एउटै मञ्चमा राखेर खुला र गहन बहस गराइनेछ। यसरी विभिन्न पृष्ठभूमि र अनुभव भएका क्षेत्रगत व्यक्तिहरूलाई एकै ठाउँमा समेट्न सकिएमा यसले क्षेत्रीय ज्ञान निर्माण मा नयाँ दिगो र सबल आधार तयार पार्न सक्ने विश्वास लिइएको छ।

​स्थानीय स्रोत मौलिक संस्कृति र सीमान्तकृत ज्ञानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमर्शको मूलधारमा ल्याउन यो सम्मेलन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। जुम्लामा आयोजना हुने यस विशेष कार्यक्रमले कर्णालीको प्राज्ञिक साहित्यिक र सामाजिक रूपान्तरणमा नयाँ ऊर्जा थप्नेछ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस