जुम्लाको हिमा गाउँपालिका–७, चिउडी गाउँमा मर्यादित महिनावारी तथा सरसफाइ स्वच्छताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन्देशमूलक सडक नाटक प्रदर्शन गरिएको छ।
हिमा गाउँपालिकाको आयोजनामा, सुस्वा परियोजनाको सहयोग तथा भेरीखोला मल्टिप्रपोज मिडिया प्रा.लि.को समन्वयमा आयोजित उक्त कार्यक्रममार्फत महिनावारीसम्बन्धी विद्यमान अन्धविश्वास, विभेद र छाउपडी प्रथाविरुद्ध सशक्त सन्देश प्रवाह गरिएको थियो।
नाटकमा महिनावारी प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई लाज, डर वा अपवित्रताको विषयका रूपमा नलिई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने, छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्नुपर्ने तथा महिलाको स्वास्थ्य र अधिकारको संरक्षणमा सबै समुदायको भूमिका आवश्यक रहेको सन्देश प्रस्तुत गरिएको थियो।
त्यसैगरी, महिनावारीका बेला व्यक्तिगत सरसफाइ, सफा तथा सुरक्षित स्यानिटरी सामग्रीको प्रयोग, साबुनपानीले नियमित हात धुने, प्रयोग गरिएका सामग्रीको सुरक्षित व्यवस्थापन तथा स्वच्छ वातावरण कायम राख्नुपर्ने विषयमा समेत दर्शकलाई जानकारी गराइएको थियो।
कार्यक्रममा स्थानीय, महिला समूह, किशोरीहरू, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सन्देशमूलक सडक नाटकले समाजमा रहेका गलत मान्यता परिवर्तन गर्न र मर्यादित महिनावारी तथा सरसफाइ स्वच्छताप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
आयोजक हिमा गाउँपालिकाले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।
