हिमा गाउँपालिकाद्वारा दलित समुदायलाई ग्यास सिलिण्डर र चुलो वितरण

जुम्ला, १६ असार ।

हिमा गाउँपालिकाले आफ्नो लक्षित वर्ग कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका दलित समुदायलाई ग्यास सिलिण्डर र ग्यास चुल्हो वितरण गरेको छ। दलित समुदायको जीवनस्तरमा सुधार ल्याउने र भान्छालाई धुवाँमुक्त बनाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।

​गाउँपालिकाका अनुसार, ‘दलित लक्षित कार्यक्रम’ अन्तर्गत गाउँपालिका भित्रका कुल ३९७ घरधुरीलाई तयारी ग्यास सिलिण्डर र आधुनिक ग्यास चुल्हो वितरण गरिएको छ। दाउराको भरमा चल्दै आएको परम्परागत भान्छालाई विस्थापित गर्दै महिला तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन यो कदम चालिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

​भान्छा आधुनिक र प्रविधिमैत्री बन्दा समयको बचत हुने र वन जंगलको संरक्षणमा समेत टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ। ग्यास चुल्हो र सिलिण्डर पाएपछि स्थानीय दलित समुदायका नागरिकहरू निकै खुसी भएका छन्।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस