जुम्ला पट्माराकाे होमस्टेले जोगायो संस्कृति, बढायो पर्यटन

जुम्लाको पातारासी गाउँपालिका ७ स्थित पट्मारा गाउँमा महिलाले सञ्चालन गरेको होमस्टे ग्रामीण पर्यटनको आकर्षक केन्द्र बन्दै गएको छ। स्थानीय संस्कृति, अर्गानिक खाना र प्राकृतिक सौन्दर्यको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्।
झण्डै १८० घरधुरी रहेको गाउँमा हाल ९ घरमा होमस्टे सञ्चालन भइरहेको छ। २०७८ सालमा हातेमालो नामक संस्थाको सहयोगमा सुरु गरिएको होमस्टे कार्यक्रम प्रारम्भमा ६ घरबाट सञ्चालन गरिएको थियो। पर्यटकको आकर्षण बढ्दै गएपछि अहिले ९ घरमा सेवा विस्तार गरिएको छ।
स्थानीय राजकली रावतका अनुसार होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादन गरिएका अर्गानिक परिकार खुवाइन्छ। नयाँ कर्णालीका सँग काे कुराकानीमा उनले भनिन्। “हामी फापरको रोटी, जौ र गहुँको रोटी, मकैको ढिँडो, सिस्नोको तरकारीलगायत स्थानीय परिकार खुवाउँछौँ। यही अर्गानिक खानाको स्वाद लिन विदेशी पर्यटकसमेत आउने गरेका छन्,” उनले बताइन्।
होमस्टेमा खानाको स्वाद मात्र होइन, स्थानीय संस्कृति र परम्परासँग पनि पर्यटकलाई परिचित गराइन्छ। स्थानीय जैकली थापाका अनुसार पाहुनाका लागि देउडा नृत्य प्रस्तुत गरिन्छ। साथै, पुरानो पहिरन, परम्परागत रहनसहन र पोते तथा जालेजस्ता गहना लगाएर स्थानीय संस्कृतिको झल्को दिइन्छ। “हाम्रो मौलिक संस्कृति देखेर पर्यटक निकै खुसी हुन्छन्,” उनले भनिन्।
स्थानीय कलसी बुढाका अनुसार पठमारा गाउँ रारा जाने सडकको छेउमा तथा खाली पाटनको नजिक अवस्थित छ। चारैतिर हरियाली वनपाखाले घेरिएको गाउँ प्राकृतिक रूपमा अत्यन्त मनमोहक रहेको उनी बताउँछिन्। सहज सडक पहुँचका कारण यहाँ आउने पर्यटकको संख्या पनि बर्सेनि बढ्दै गएको छ।
महिलाको सक्रियतामा सञ्चालन भइरहेको होमस्टेले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादन, संस्कृति र परम्पराको संरक्षणमा टेवा पुर्‍याएको छ। अर्गानिक खाना, देउडाको लय, मौलिक जीवनशैली र मनमोहक प्राकृतिक दृश्यका कारण पठमारा गाउँ जुम्लाको उदाउँदो ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयको विश्वास रहेकाे छ।
स्थानीयका अनुसार पट्मारा गाउँको सिरानमा रहेको चुली हिमाल यहाँको अर्को प्रमुख आकर्षण हो। बर्षायाममा चुली हिमालबाट आधा दर्जनभन्दा बढी झरनाहरू झर्ने मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गर्छ। साथै, हिमालको चुचुरोबाट मौसम खुलेका बेला झण्डै १६ जिल्लाका भूभाग र सिमाना अवलोकन गर्न सकिने भएकाले यहाँ पुग्ने पर्यटकले प्राकृतिक सौन्दर्यसँगै दुर्लभ दृश्यावलोकनको अनुभव पनि लिने गरेका छन्।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस