विषादी प्रयोग विरुद्ध तातोपानी गाउँपालिकाभर जनचेतना अभियान सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिकामा विषादी प्रयोग विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ।
मार्सी धानमा प्रयोग हुने ब्युटाक्लोर नामक विषादीकाे असरबारे जनचेतना फैलाउन कार्यक्रम सञ्चालन गरिएको हो।
कृषि विकास कार्यालय जुम्ला र तातोपानी गाउँपालिकाको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको थियो। भेरीखोला मल्टिप्रपाेज मिडिया प्रालिले समन्वय गरेको थियो।
अभियान जेठ ४ गते गिडीखोला गाउँबाट सुरु भएको थियो। जेठ २२ गते लिताकोट गाउँमा पुगेर समापन गरिएको छ।
सडक नाटकका चर्चित कलाकार मानबहादुर कुँवर ‘भैरे’ नेतृत्वको टोलीले विभिन्न गाउँमा प्रस्तुति दिएको थियो।
नाटकमार्फत विषादीका हानिकारक असरबारे जानकारी दिइएको थियो।
ब्युटाक्लोरको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पुग्ने बताइएको छ। यसले वातावरणलाई पनि प्रदूषित बनाउँछ। पशुचौपायाको स्वास्थ्यमा समेत असर पार्ने जनाइएको छ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले विषादीको जथाभावी प्रयोग रोक्नुपर्ने बताए। उनले सुरक्षित र प्राङ्गारिक खेतीतर्फ किसानलाई आकर्षित गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौँलागाईंले हानिकारक विषादी नियन्त्रणमा गाउँपालिका कडा रूपमा लाग्ने बताए। उनले किसानको स्वास्थ्य र वातावरण संरक्षणलाई प्राथमिकता दिइने बताए।
स्थानीयवासीले सडक नाटकबाट उपयोगी जानकारी पाएको बताएका छन्। अभियानले विषादीका असरबारे जनचेतना बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस