चर्चित बन्यो ‘बग्यो करनाली’ गीत, तर गायक ओझेल परे

जुम्लाको सिंजा गाउँपालिका–२ निवासी पदम वडले करिब डेढ दशकअघि गाएको ‘बग्यो करनाली’ बोलको गीत आज पनि कर्णालीका गाउँ–बस्ती, रेडियो र जनजीवनमा उत्तिकै लोकप्रिय छ। कर्णालीको मौलिक लोकलयमा आधारित उक्त गीतले एक समय रेडियोका कार्यक्रमहरूमा व्यापक चर्चा पाएको थियो। गाउँघरका बनपाखा, मेलापात र सांस्कृतिक जमघटमा समेत यो गीत घन्किने गर्थ्यो। तर गीत लोकप्रिय भए पनि त्यसका गायक भने लामो समयसम्म ओझेलमै परे।
वि.सं. २०६८ तिर रेकर्ड गरिएको उक्त गीतमा कर्णालीको प्रकृति, जीवनशैली, माया प्रेम र लोकसंस्कृतिको सुन्दर चित्रण गरिएको छ। गीतका शब्दहरू “बग्यो करनाली, हिमा हुँदै तिला हुँदै, को होई फूलको माली, फुल टिप्ने रहर भो मलाई” ले श्रोताको मन छोएको थियो। कर्णालीको मौलिक भाका र सरल शब्द संयोजनका कारण गीत छोटो समयमै जनमानसमा फैलिएको थियो।
गायक पदम वडका अनुसार त्यतिबेला अहिले जस्तो डिजिटल माध्यम र सामाजिक सञ्जालको पहुँच थिएन। गीत रेडियोमा बज्थ्यो, गाउँघरमा गुञ्जिन्थ्यो, तर गायकको पहिचान भने सीमित दायराभित्रै रह्यो। “गीत सबैको मुखमा झुण्डियो, तर मलाई धेरैले चिन्न सकेनन्,” उनले स्मरण गरे।
उनले थपे, “त्यो समयमा युट्युब, टिकटक वा फेसबुकजस्ता माध्यमको प्रयोग व्यापक थिएन। रेडियो नै मुख्य सञ्चार माध्यम थियो। गीत लोकप्रिय भए पनि कलाकारलाई चिनाउने वातावरण कम थियो।” उनका अनुसार अहिलेको जस्तो डिजिटल युग भएको भए गीतसँगै कलाकारले पनि उचित पहिचान र अवसर पाउने थिए।
पदम वड कर्णालीको लोकसंस्कृतिसँग गहिरो सम्बन्ध राख्ने कलाकार हुन्। उनले आफ्ना गीतमार्फत कर्णालीको जनजीवन, दुःख–सुख, प्रेम र प्रकृतिलाई अभिव्यक्त गर्दै आएका छन्। ‘बग्यो कर्णाली’ गीतले विशेषगरी कर्णाली क्षेत्रमा छुट्टै स्थान बनाएको छ। अहिले पनि विभिन्न सांस्कृतिक कार्यक्रम तथा स्थानीय रेडियोहरूमा यो गीत सुनिने गर्छ।
नयाँ कर्णाली डिजिटल मिडियासँगको कुराकानीमा गायक पदम वडले कर्णालीको मौलिक लोककलालाई समयअनुसार नवीकरण गर्दै नयाँ पुस्तामाझ पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताएका छन्। उनले पुराना सिर्जनालाई आधुनिक प्रविधिसँग जोडेर संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस