जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले जिल्लामा देखिएको एलपी ग्यासको चरम् अभाव समाधान गर्न र विद्यार्थीहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय, जुम्लामार्फत प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण-पत्र बुझाएको छ।
नेपाली मिति २०८१/०४/२६ मा स्ववियु सभापति लोकेन्द्र बुढाको नेतृत्वमा गएको विद्यार्थी प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण-पत्र हस्तान्तरण गरेको हो।
ध्यानाकर्षण-पत्रमा पछिल्लो समय जुम्ला जिल्लामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदा डेरा गरी बस्ने बाहिरी तथा स्थानीय विद्यार्थीहरूसँगै आम नागरिकको दैनिक जीवन, स्वास्थ्य र अध्ययनमा गम्भीर असर परेको उल्लेख गरिएको छ। ग्यास नपाएर घण्टौँ लाइनमा बस्नुपर्ने, महँगो मूल्य तिर्नुपर्ने तथा वैकल्पिक र असहज माध्यम प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको स्ववियुले जनाएको छ।
ध्यानाकर्षण-पत्रमार्फत उठाइएका प्रमुख मागहरू:
१. जुम्ला जिल्लामा एलपी ग्यासको नियमित, पर्याप्त र सहज आपूर्ति हुने व्यवस्था मिलाइयोस्।
२. जुम्ला बहुमुखी क्याम्पस, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत सम्पूर्ण शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखी सहज र प्राथमिकतामूलक वितरण व्यवस्था मिलाइयोस्।
३. एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने, कालोबजारी गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गरियोस्।
४. सम्बन्धित ग्यास उद्योग, डिलर तथा व्यवसायीहरूसँग आवश्यक समन्वय गरी जुम्लामा पर्याप्त मात्रामा ग्यास भित्र्याउने व्यवस्था तत्काल मिलाइयोस्।
५. ग्यास खरिद गर्दा अनावश्यक सास्ती भोग्न नपर्ने गरी वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाइयोस्।
६. समस्या समाधान नभएसम्म सम्बन्धित निकायबाट नियमित अनुगमन गरी सहज रूपमा ग्यास उपलब्ध हुने वातावरण निर्माण गरियोस्।
विद्यार्थीहरूको दैनिक जीवन र पढाइसँग प्रत्यक्ष जोडिएको यस गम्भीर समस्यालाई संवेदनशीलतापूर्वक लिई यथाशीघ्र प्रभावकारी व्यवस्थापन र पहल गरिदिन स्ववियु सभापति लोकेन्द्र बुढाद्वारा हस्ताक्षरित ध्यानाकर्षण-पत्रमा हार्दिक अनुरोध गरिएको छ।
