
काठमाडौँको सडकमा फेरि एउटा भुइँमान्छेको चित्कार गुन्जियो। नियम र कानुनको पाठ सिकाउने राज्य संयन्त्रको अमानवीय व्यवहारले फेरि एकपटक एउटा गरिवको रोजीरोटी मात्र खोसिएन, बरु एउटा ऊर्जावान् युवाको जीवन नै सदाका लागि अस्ताएको छ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो दैनिक गुजाराका लागि पठाओ चलाएर बसेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीले बिहीबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे। ६० प्रतिशतभन्दा बढी शरीर जलिसकेका गणेशको वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा दुखद निधन भएको छ।
देशमै केही गर्छु, विदेशी भूमिमा आफ्नो पसिना बेच्दिनँ भन्ने दृढ संकल्पका साथ कृषि विषयमा स्नातक (Bachelor in Agriculture) उत्तीर्ण गरेका गणेश विगत साढे दुई वर्षदेखि काठमाडौँका सडकमा पठाओ चलाएर आफ्नो परिवार पालिरहेका थिए। उनका घरमा वृद्ध आमाबुबा, श्रीमती र दुई वर्षकी सानी छोरी छिन्। ६ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका गणेशको कमाइले नै सिंगो परिवारको गुजारा चलिरहेको थियो। छोरीलाई राम्रो विद्यालयमा पढाउने सपना बुनिरहेका गणेशका ती सारा सपना बिहीबार सडकमै खरानी भए।
प्रत्यक्षदर्शीका अनुसार राहदानी विभाग अगाडि सडकको छेउमा मोटरसाइकल पार्किङ गरेकै निहुँमा महानगरका नगर प्रहरीले उनको मोटरसाइकल जफत गर्न खोजेका थिए। आफ्नो बाँच्ने एकमात्र सहारा खोसिने भएपछि गणेशले नगर प्रहरीका अगाडि हात जोडे, हारगुहार गरे, रोए, कराए। तर नियमको रटान लगाउने ती ढुंगाको मुटु भएका नगर प्रहरीले उनको एउटै रोदन पनि सुनेनन्। अन्ततः चारैतिर अन्धकार देखेर, आफ्नो आत्मसम्मान र बाँच्ने आधार सडकमै लुटिएको सहन नसकी गणेशले आवेशमा आई आफ्नै शरीरमा आगो लगाए।
आईसीयूको शय्यामा मृत्युसँग लड्दै गर्दा गणेशले रुँदै आफ्ना दाजु मदनलाई भनेका अन्तिम शब्दहरू थिए, “आमा-बुबालाई ख्याल गर्नु!” यी शब्दहरूले सुन्ने जो कोहीको पनि मुटु चिस्याउँछ। आफ्नै देशमा इमान्दारीपूर्वक काम गरेर खान्छु भन्दा पनि बाँच्न नपाउने यो कस्तो राज्य व्यवस्था हो?
हिजो इलामका प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि आत्मदाह गर्दा राज्य संयन्त्रलाई ‘अशक्षम’ भन्दै फेसबुकमा आक्रोश पोख्ने तिनै बालेन शाह आज काठमाडौँ महानगरको नेतृत्वमा छन्। हिजो आफैँले कडा आलोचना गरेको त्यही राज्य संयन्त्रको बागडोर आज बालेकै हातमा हुँदा, उनकै नेतृत्व र नीति अन्तर्गत चल्ने नगर प्रहरीको यो क्रुर र निर्दयी व्यवहारले आज अर्को प्रेमप्रसाद जन्माएको छ।
गणेश नेपाली कुनै अपराधी थिएनन्, उनी देशलाई लुट्ने भ्रष्टाचारी पनि थिएनन्। उनी त केवल आफ्नो पसिना बगाएर परिवार पाल्न चाहने एक शिक्षित र मेहनती युवा थिए। अब भन्नुस्, एउटा गरिवको रोजीरोटी खोसेर नियम पालना गराउन खोज्ने यो महानगरको कदम सफलता हो कि चरम असफलता?
मृतक गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना! हे राज्य, अब त गरिवलाई बाँच्न देऊ!
