मर्यादित महिनावारीबारे राहदेव माविका विद्यार्थी सचेत, सडक नाटकले छाउपडी अन्त्यको सन्देश फैलायो

मर्यादित महिनावारीबारे राहदेव माविका विद्यार्थी सचेत, सडक नाटकले छाउपडी अन्त्यको सन्देश फैलायो

जुम्लाकाे हिमा गाउँपालिका ३ मोफ्लास्थित राहदेव माध्यमिक विद्यालयमा मर्यादित महिनावारी तथा सरसफाइ स्वच्छता सम्बन्धी सन्देशमूलक सडक नाटक प्रदर्शन गरिएको छ। हिमा गाउँपालिकाको आयोजनामा, सुस्वा परियोजनाको सहयोग तथा भेरिखोला मल्टिपर्पोज मिडिया प्रा.लि.को समन्वयमा सम्पन्न कार्यक्रमले विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायलाई महिनावारीसम्बन्धी भ्रम चिर्दै छाउपडी प्रथा अन्त्यका लागि महत्वपूर्ण सन्देश दिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कलाकारहरूले जीवन्त अभिनयमार्फत महिनावारी कुनै रोग वा अशुद्ध अवस्था नभई महिलाको प्राकृतिक जैविक प्रक्रिया भएको सन्देश दिएका थिए। नाटकमा छाउपडीका कारण महिलाले भोग्नुपरेका स्वास्थ्य, शिक्षा, सुरक्षा तथा मानसिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको थियो।
नाटकमार्फत महिनावारी भएका बेला महिलालाई विभेद गर्नु, घरबाहिर वा गोठमा बस्न बाध्य बनाउनु, पोषणयुक्त खाना खान नदिनु तथा विद्यालय जानबाट रोक्नु मानव अधिकारको उल्लङ्घन भएको सन्देश दिइएको थियो। साथै, सुरक्षित महिनावारी व्यवस्थापनका लागि सफा स्यानिटरी प्याड वा अन्य सुरक्षित सामग्रीको प्रयोग, नियमित हात धुने बानी, व्यक्तिगत सरसफाइ तथा सफा शौचालयको प्रयोगको महत्व पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमपछि आयोजित अन्तरक्रियामा विद्यार्थीहरूले महिनावारीसँग सम्बन्धित जिज्ञासा खुलेर राखेका थिए भने शिक्षकहरूले विद्यालयलाई महिनावारीमैत्री वातावरण बनाउन सबैको साझा जिम्मेवारी रहेको बताएका थिए। सहभागीहरूले यस्ता चेतनामूलक कार्यक्रमले सामाजिक सोच परिवर्तन गर्न ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
आयोजक हिमा गाउँपालिकाले मर्यादित महिनावारी, महिला सम्मान तथा सरसफाइ प्रवर्द्धनका लागि समुदायमा यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ। सहयोगी सुस्वा परियोजनाले समुदायमा व्यवहार परिवर्तन ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको थियो। कार्यक्रमको समन्वय भेरिखोला मल्टिपर्पोज मिडिया प्रा.लि.ले गरेको थियो।
सहभागीहरूले सडक नाटकले मनोरञ्जनसँगै शिक्षाप्रद सन्देश दिएको र छाउपडीजस्ता हानिकारक सामाजिक प्रथाको अन्त्य तथा मर्यादित महिनावारी अभ्यासलाई प्रवर्द्धन गर्न प्रभावकारी माध्यम बनेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस