जुम्ला, १६ असार ।
जुम्लाको हिमा गाउँपालिकामा एकल महिलाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाहीको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच पालिकाभित्रका एकल महिलाहरूलाई न्यानो कपडा वितरण गरिएको हो।
एकल महिलाहरूको आत्मबल बढाउन, उनीहरूको योगदानको कदर गर्न र दैनिक जीवनमा केही सहजता थप्न स्थानीय सरकारको तर्फबाट यो प्रोत्साहनमूलक कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
जनप्रतिनिधि तथा जिम्मेवार व्यक्तिहरूले उत्साहका साथ एकल महिलाहरूलाई कपडा हस्तान्तरण गरिरहेका छन्।
न्यानो कपडा वितरण गर्दै उपाध्यक्ष सुर्पना शाहीले लक्षित वर्ग, विशेष गरी एकल महिलाहरूको सामाजिक र आर्थिक सशक्तीकरणका लागि हिमा गाउँपालिका सधैं गम्भीर रहेको बताउनुभयो। आगामी दिनमा पनि उनीहरूको सीप विकास र आत्मनिर्भरताका लागि थप प्रभावकारी कार्यक्रमहरू ल्याइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कपडा पाएपछि स्थानीय एकल महिलाहरूले खुसी व्यक्त गर्दै स्थानीय सरकारले आफ्नो सुख-दुःखमा साथ दिएको महसुस भएको बताएका छन्।
