जुम्लालाई नेपाली भाषा र सभ्यताको उद्गम थलाे सिञ्जाकाे जिल्लाका रुपमा चिनिन्छ। जुम्लाकाे अर्काे परिचय हाे, काठका पुुल र पुल किनारमा बनाइएका कलात्मक मुर्तिहरु। परम्परागत सीप, शैली र कला झल्किने काठेपुल ईतिहास, प्रकृति र पर्यटनकाे संगम हुन्।
कर्णालीका साना तथा मझाैला नदि तर्न बनाइएका काठेपुल केवल आवतजावतका माध्यम हाेइनन्, परम्परागत सीप, कला र संस्कृतिका प्रतीक हुन्। जुम्लाकाे हिमा र तिला नदिमा बनाइएका काठेपुलले यहाँकाे कला, सँस्कृति र इतिहासलाई जाेगाइरहेका छन्।
हराउदै गएकाे काष्ठकलालाई जेनतेन काठेसाँघुले बचाइरहेका छन्। कंक्रिट र झुलुङ्गे पुलले काठेसाँघु लाेप हुँदै गइरहेका छन्। यद्यपि हिमा र तिला गाउँपालिकामा भने नयाँ काठेपुल निर्माण गरिएका छन्। जसमा कलात्मक काठका मुर्तिसमेत देख्न सकिन्छ ।
पर्यटकका लागि कलात्मक काठेपुल आकर्षणकाे केन्द्र बनिरहेका छन्। स्थानीयलाई आवतजावत का लागि निर्माण गरिएतापनि पुल सँगै विभिन्न मुर्ति, चित्र र आकृति बनाउने जुम्लाकाे पुनाराे संस्कृति हाे।
कञ्चन बगिरहने नदि माथिका काष्ठकलाले हरेक यात्रीलाई जिज्ञासु बनाइदिन्छ। प्राय पर्यटक काठेसाँघु देख्नासाथ त्याे पललाई फाेटाे तथा भिडियाेमा कैद गर्न थाल्छन्। तर काठेसाँघु लाेप हुने खतरामा पुगिरकेकाे छ। हाल तिला, हिमा र सिंजा गाउँपालिकामा कलात्मक काठेपुल अस्तित्वमा छन्। अन्य पालिकामा लाेप हुँदै गइरहेका छन्।
