
आज भन्दा ७ वर्षअघि जुम्लाको दुर्गम क्षेत्र मणिसाँघुको नापानी लेकमा स्थानीय धर्मजीत बस्नेतले बहुमुल्य जडिबुटिका विरुवा रोप्न सुरु गरे । धर्मजीतले बनमा पाइने जडिबुटि खेतबारीमा रोेपेको देखेर गाउँलेहरु छक्क पर्थे । कसैलाई धर्मजीतको यो काम अस्वभाविक पनि लागिरहेको थियो । अनौठो मानेर गाउँलेहरु धर्मजीतलाई बौलाहाको संज्ञा दिइरहेका थिए । गाउँलेहरु भन्थे, ‘बनपाखा र पाटनमा यत्रतत्र पाइने जडिबुटी संकलन गरेर बेच्नुको साटो बारीमा रोपेर धर्मजीत उल्टोबाटो हिँडिरहेको छ ।’ गाउँलेहरु जडिबुटी टिपेर व्यापारीलाई बेच्थे । धर्मजीत भने संकलन गरेर ल्याएका थरीथरिका जडिबुटी बिउ आफ्नो खेतबारीमा छर्ने र दाना रोप्ने गर्थे । उनलाई एउटै मात्र चिन्तन थियो, ‘कुनैदिन बहुमुल्य जडिबुटी लोपउन्मुख अवश्थामा पुग्नेछन्, बारीमा रोपिएका जडिबुटीका विरुवाले संरक्षण र आम्दानी दुबै काम गर्नेछन् ।’
सेतो चिनि, बन लसुन, अत्तिस, सतुवा, जटामसी लगाएतका जडिबुटि खेतीको अनुभव बटुल्न ७ वर्ष लाग्यो । अन्तत, अत्तिस र बन लसुनमा सफलता मिल्दै गयो । २ वर्ष अघि सम्म नापानीको जग्गामा प्रसस्त अत्तिस थियो । सबै अत्तिस बेचेर बन लसुनलाई थप विस्ता गरे । बनमा लोपोन्मुख अवश्थामा पुगेर भेट्न मुस्किल परिरहेको बन लसुन उनको खेतबारीमा झण्डै ७० किलो सम्म पुगेको छ । जसको बजार मुल्य प्रतिकिलो ३५ हजार सम्म छ । जीवनको उर्वर उमेर जडिबुटिको खेती र अनुसन्धानमा खर्चनुभएका धर्मजीत बस्नेत बन लसुनको सफल खेतीले हिमाली क्षेत्रका किसानका लागि ठूलो महत्व राख्ने बताउन्छन् ।
‘जुम्लामा बन लसुन खेती गरेर पैंसा कमाउन सकिन्छ भनेर कसैले पनि कल्पना नगरेको समयमा म सफल भएको छु लामो त्याग, तपस्या पछि बनलसुन खेतीमा सफलता मिलेको हो, जिल्लाभरी कतैपनि बन लसुन खेती गरिएको छैन, अहिले थुप्रै मानिसले सोधीखोजी गरिरहेका छन्, यो नै मेरालागि खुसिको कुरा हो ।’ धर्मजीतले भने । बनलसुन अहिले बनजंगलमा औषधीका लागि खोज्दा समेत नपाइने अवश्थामा पुगेको छ, तर आफ्नोबारीमा ७० देखी ८० किलो सम्म उत्पादन भएको उनले बताए । जडिबुटी खेतीको अनुसन्धान केवल आफ्ना लागि मात्र सिमित नरहेको उनको भनाई छ । ‘अहिले गाउँबस्तीमा युवा भेटिदेनन्, स्वदेशमा बसेर भविष्य सुनिश्चित नहुने गलत भाष्य निर्माण भएको छ, यसलाई चिर्न आवश्यक छ, जडिबुटी खेती गरेर परिवारसँगै रमाइरमाइ विदेशभन्दा दोब्बर कमाइ गर्न सकिन्छ ।’ उनले सुनाए ।
जडिबुटी खेतीमा सम्भावना नदेखेका गाउँलेहरुले धर्मजीतको नयाँ प्रयासलाई अविश्वास गरेपनि उनकी जीवन सँगिनि रमिला बस्नेतले साथ दिइन । घरको खेतीपाती आफैले धानेर धर्मजीतलाई जडिबुटी खेतीको अनुसन्धानमा स्वतन्त्र छाडिन् । अहिले खेतबारीमा लाखौंको जडिबुटि उत्पादन भएको छ । ‘अरु जडिबुटी संकलन गर्न पाटन देखि भीरपाखा र वनजँगल धाउन्छन, हाम्रो आँगनमै जडिबुटी छ, घरमै बसी बसी वर्षमा लाखौं आम्दानी भइरहेको छ ।’ रमिला बस्नेतले भनिन् ।
धर्मजीत बस्नेतको जडिबुटि खेतीले किसान देखी स्थानीय सरकारको ध्यान तानिरहेको छ । गुठिचौर गाउँपालिका वडा नम्वर १ ले उनलाई उत्कृष्ट कृषकको रुपमा पुरस्कृत समेत गरेको छ । युवा जनशक्ति पलायन भइरहेका बेला उहाँले जडिबुटि खेतीबाट वर्षेनी लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेर समाजमा जागरण ल्याएको गुठिचौर गाउँपालिका १ वडा अध्यक्ष अर्जुन कुमार महताराले बताए । वर्षभरी एक बालीमात्रै पाक्ने यो क्षेत्रमा जडिबुटी खेतीमा अनुसन्धान गरेर नयाँ प्रयोग गरेर देखाउने उत्कृष्ट किसान धर्मजीत बस्नेत हिमाली जिल्लाका थुप्र किसानका लागि रोल मोडल बनेको वडा अध्यक्ष महताराको भनाई छ । जसले जडिबुटीमा रुची राख्छ उसलाई धर्मजीत बस्नेतको अनुभव बरदान साबित हुने उनले बताए ।
स्थानीय तहको बजेट, नीति र कार्यक्रमलाई कृषिसँग जोडिएको गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए । गुठिचौरको उपल्लो क्षेत्रमा जडिबुटी खेतीको प्रचुर सम्भावना भएकोले स्थानीय सरकारले किसानलाई सघाउने गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जानकारी दिएका छन् । नेपालमा पाइने करीब ११ हजार प्रजातिका वनस्पतिमध्ये ७ सयभन्दा बढी औषधिय जडीबुटी छन् । विश्व बजारमा धेरै माग भएको, आन्तरिक उद्योगहरूलाई आवश्यक, कृषि क्षेत्रमा अपार सम्भावना र भौगोलिक दृष्टिकोणले समेत प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालको जडीबुटी क्षेत्रले व्यावसायिक परिणाम दिन सकेको छैन । परम्परागत नेपाली जडीबुटी छिमेकी मुलुक भारत र चीनमा निर्यात हुँदै आएकोमा अहिले संसारका अन्य मुलुकहरूमा पनि निर्यात हुन थालेको छ । जसले जडिबुटी खेतीमा लागेका किसानलाई थप मिहेनति बनाएको छ । जुम्लाका किसान जडिबुटि खेतीमा भविष्य खोजिरहेका छन् । बहुमुल्य जडिबुटि लोपहुने अवश्थामा पुगेपछि आफ्नै खेतबारीमा जडिबुटि खेतीगर्न थालिएको छ ।