कृषि उपजबाट परिकार बनाउन १० दिने तालिम सञ्चालन

जुम्ला स्याउले चिनिएको जिल्ला हो । जुम्ली किसानको घरघरमा स्याउ उत्पादन हुन्छ । सिजनमा उत्पादन अनुसारको बजारीकरण नहुँदा स्याउ कुहियर खेर जान्छ । स्याउबाट विभिन्न परिकार बनाउन सकिने भएतापनि किसानलाई सीप र ज्ञानको अभावले स्याउलाई आम्दानीमा जोड्न मुस्किल परिरहेको छ । किसानको यहि बाध्यतालाई मध्यनजर गर्दै जुम्लामा फलफुल प्रशोधन तथा पोष्ट हार्भेष्ट सम्बन्धि १० तालिम सञ्चालन गरिएको छ । वल्डभिजन इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा २३ जनालाई फलफुल प्रशोधन तथा पोष्ट हार्भेष्ट सम्बन्धि तालिम प्रदान गरिएको किर्डाका नेपालका जिल्ला संयोजक दिपराज रावतले बताए ।
जुम्लाका ५ वटा स्थानीय तह (तिला, तातोपानी, चन्दननाथ, गुठिचौर र पातारासी) का २३ जना जागरुक नव उद्यमी र युवा युवति लक्षित फलफुल प्रशोधन तथा पोष्ट हार्भेष्ट सम्बन्धि तालिम दिइएको हो । स्याउबाट जाम, जेली, जुस बनाउन सिकेको पातारासीकि प्रमिला विष्टले बताइन् । ‘बजारीकरणको उपाय र परिकार बनाउने सिपमा अलमल थियो, अब यो तालिमले सबै अभाव दुर गर्ने अपेक्षा गरिएको छ ।’ उनले भनिन् ।

तिला ६ रीपि गाउँका दिल बहादुर रावतले कुहिएर खेर जाने अनमोल कच्चा पदार्थलाई आम्दानीमा जोड्न यस पटकको तालिम कोशेढुँगा साबित हुने छ । ‘विगतमा इच्छा भएर पनि खुम्चिएर बस्नुपरेको थियो, अल्पज्ञानलाई चिर्दै अब फलफुल प्रशोधन गर्ने, परिकारको लेभलिङ गर्ने देखि गुणस्तरी बनाउन तालिममा सिकिएको छ ।’ उनले भने ।
तालिममा सहभागीले दृढ संकल्पका साथ जागरुक भएर सीप सिकेको प्रशिक्षक हिरा बहादुर शाहिले बताए । सीप आदानप्रदानमा सहभागि सँग राम्रो सहकार्य भएको बताउर्दै उनले सिकेको सीप व्यवहारमा लागु गर्न अनुरोध गरे । परिकार बनाउदा कच्चा पदार्थको अनुपात मिलाउने सवालमा चनाखो हुनुपर्ने उनको भनाई छ । थोरै उत्पादनबाट बढी आम्दानीमा जोडिन किसानलाई प्रेरित गर्नका लागि तालिमको आयोजना गरिएको किर्डाक नेपालका जिल्ला संयोजक दिपराज रावतले बताए । किर्डाक नेपालकाे आयाेजना र वल्डभिजन इन्टरनेशनल नेपालकाे सहयाेगमा ताालिमकाे आयाेजना गरिएको हाे।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस