तातोपानी गाउँपालिकाको दुई वर्षे प्रगति सार्वजनिक

तातोपानीको प्रगतिः गिडिदहको क्षेत्रफल सार्वजनिक देखी लोकप्रीय काम

जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षे प्रगति सार्वजनिक गरेको छ । २०७९ सालको निर्वाचन पछि तातोपानी गाउँपालिकामा भएको प्रगति सार्वजनिक गरिएको हो । तातोपानी गाउँपालिकाले आज पत्रका सम्मेलन मार्फत तातोपानी गाउँपालिकामा २ आर्थिक वर्ष (२०७९÷०८० र २०८०÷०८१) मा सम्पादन भएको उत्कृष्ट काम सार्वजनिक गरेको हो । जुम्लाका ८ स्थानीय तह मध्यको एक तातोपानीमा नमुना काम भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताएका छन् ।
तातोपानी गाउँपालिकामा असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न प्रत्येक आर्थिक वर्षको वैशाख मसान्त भित्रै योजनाहरुको अन्तिम भुक्तानी गर्ने नीतिगत व्यवश्था गरिएको अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए । समयको महत्वलाई ख्याल राख्दै तातोपानीमा तातोपानी टाइम्स लागु गरिएको बताउदै अध्यक्ष चौंलागाईले पालिकालाई खादामुक्त गरिएको जानकारी दिए । श्रम संस्कृतिको विकास गर्न र योजनाहरुको लागत घटाउन तातोपानीमा प्रत्यके हप्ताको दोस्रो शनिवार श्रमदान अभियान सञ्चाल गर्रिएको अध्यक्ष चौंलागाईको भनाई छ ।
‘मानसिक सन्तुलन गुमाई सडकमा भौतारिरहेका ६ जना नागरिकको उद्धार गरि पुर्नस्थापना गरिएको छ, गाउँपालिकाको आन्तरिक आयस्रोतबाट पालिकाको प्रशासनिक भवन निर्माण भएको छ, साथै २५ वटा स्थानीय कानुन निमाएण गरि कार्यान्वयनमा ल्याइएको छ ।’ अध्यक्ष चौंलागाईले भने । विपन्न नागरिकका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु, वृहत स्वास्थ्य शिविर सञ्चालन, निशुल्क एम्बुलेन्स सेवा प्रदान , शैक्षिक कचहरी सञ्चालन गर्नुका साथै र विद्यार्थी शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान गरिएको अध्यक्ष चौंलागाईले जानकारी दिएका छन् । तातोपानी गाउँपालिका भित्र रहेका ३ हजार ३ सय घरधुरीको घर बिमा गरिएका र स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम लागु गरिएको अध्यक्ष चौंलागाईले सार्वजनिक गरेका छन् ।
जुम्लाकै ठुलो र सुन्दर ताल गिडिदह सम्मेल गरि क्षेत्रफल समेत सार्वजनिक गरिएको छ । गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२ दशमलव ३ मिटर रहेको छ । दुई आर्थिक वर्ष भित्रमा भौतिक पुर्वधार तर्फ १० वटा विद्यालय भवन, २ वटा वडा कार्यालय भवन, १ प्रशासकीय भवन, ३ वटा सार्वजनिक शौचालय, ३ वटा काठेपुल निर्माण, २ वटा झुलेंगे पुल, ७ किमि सडक निर्माण, २४ किमि गोरेटो बाटो निर्माण, २५२८ घरधुरीमा खानेपानी मर्मत तथा निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा योजना क्षेत्रमा ९९ प्रतिशत भौतिक प्रगति गरिएपनि विविध कारणले ५८ प्रतिशत मात्रै योजनाको अन्तिम भुक्तानी भएको तातोपानका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।
‘योजनाको भौतिक प्रगति ९९ प्रतिशत छ, तर रोपाईँ, घरायसी कामको चटारो र यार्सा टिप्ने लहरले भुक्तानी भने कम भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत कठायतले भने । पालिकामा चालु आर्थिक वर्षमा ७ वटा योजनाहरु ठेक्का मार्फत सञ्चालन भएको कठायतले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस