रैथाने बालीबाट चर्चा कमाएको जुम्ला

जुम्ला प्रांगारिक जिल्ला घोषणा भएको १५ वर्ष पुरा भएको छ । डेढ दशक सम्म आइपुग्दा जुम्लाले अर्गानिक कृषि बालिबाट चर्चा मात्रै कमाएन किसानले रैथानेबालीबाट मनग्य लाभलिदै आएका छन् । जुम्ला अर्गानिकको पर्याय बन्दै गइरहेको छ । जुम्लाको कालीमार्सी चामल, चिनो, कागुनो, मार्से, सिमि अहिले उपभोक्ताले अत्यधिक रुचाएका अर्गानिक खाद्यबस्तु हुन् । जुम्ला यिनै कृषि उपजले चिनिएको छ । शुद्ध, ताजा र अर्गानिक खाद्यबस्तु उपभोगको चेतनाले जुम्ली किसानलाई फाइदा भइरहेको छ । पातारासीकि रुपा बुढा ठाडिभाका मार्फत यसरी बयान गर्छिन्,
खेतमा मार्सी धान, पाखाभरी कागुनो छ
राम्रो हुन्छ खान, अर्गानिक उत्पादन हाम्रो
जुम्ला सडक सञ्जालमा जोडिएपछि यहाँका रैथानेबालीको बजार आक्रमक रुपमा विस्तार भएको हो । अहिले पर्यटक लक्षित कोशेली घरहरु छन् । चन्दननाथ भैरवनाथ मन्दिर नजिकैको चन्दननाथ अर्गानिक मिनि मार्केटमा किसानले बेच्न ल्याएको फापरको पिठो प्याकिङ हुदै छ । तिते र मिठे फापरको पिठोे किसानको घरबाट मिनि मार्केटमा पुग्नासाथ उपभोक्ताले किनेर लैजान्छन् । बजारको माग अनुसार किसानले पुर्याउन सकिरहेका छैनन् । स्थानीय जयकृष्ण जैसीका अनुसार माग अनुसारको फापरको पिठो पुर्याउन सकिएको छैन ।
जुम्लाको कालीमार्सी चामल, फापरको पिठो, चिनो, कागुनो, मार्से र कोदो व्यापारीले घरमै पुगेर संकलन गर्छन । किसानलाई रैथानेबालीका लागि बजारको चिन्ता छैन् । जुम्ला प्रांगारिक जिल्ला घोषणा भएपछि बजारीकरणमा परिवर्तन आएको चन्दनाथ १० कि अञ्जु शाहिले बताइन् । ‘किसानले बजार खोज्नुपर्ने बाध्यता हटिसकेको छ, गाउँ टोलमा सहकारी, कृषि समुहको पहुँच छ, यसले पनि बजारीकरणमा सघाउ पुगेको छ ।’ उनले भनिन् ।
जुम्लामा आगन्तुक पाहुना र जिल्ला भित्रका उपभोक्ताले खोजीखोजी अर्गानिक कृषि उपज लैजाने गर्छन । बजारको माग बढेपछि थुप्रै कोशेली घर विस्तार भएका छन् । चन्दननाथ अर्गानिक मिनि मार्केटबाट १ वर्षमा मार्सी चामल, सिमि र फापरको पिठो गरि झण्डै १ करोड बराबरको विक्रि हुने गरेको मिनि मार्केटका व्यवश्थापक राजु बोहोराले जानकारी दिए । ‘जुम्लाबाट चिनोको रुपमा यहाँका रैथाने खाद्यबस्तु लैजाने संस्कृतिको विकास भएको छ, स्वास्थ्यका लागि मात्र नभएर अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी वातावरणमैत्री पनि हुन्छ भनेर पर्यटकले प्रतिबिmया दिने गरेका छन् ।’ उनले भने ।
कृषि विज्ञका अनुसार जुम्लामा कृषि उपज उत्पादन गर्न र वृद्धि गराउनका लागि कुनै पनि रसायनको प्रयोग गरिएको हुँदैन । कीटनाशक विषादी, हर्बिसाइड्स, र हर्मोनहरूले कृषि र वातावरणजन्य नोक्सानी हुने गरी नदी, माटो र हावालाई दूषित बनाउन सक्छन् ।
कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा १ हजार २ सय हेक्टरमा कालीमार्सी धान खेती भइरहेको छ । यस्तै १५ हेक्टरमा कागुनो , ३ हजार हेक्टरमा कोदो २१ हेक्टरमा चिनो खेती भइरहेको छ । जुम्ला रैथानेबालीका दृष्टिले प्रसिद्ध बन्दै गएको उनले बताए ।
उनि भन्छन्, ‘रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाउन्छन् । । अनावश्यक र उपयोगी नहुने जीवलाई मार्नका लागि प्रयोग हुने कीटनाशक, स्टेरोइड, हर्मोन, एन्टिबायोटिक र हर्बिसाइडहरू हामीले खाने खानामा पनि रहने गरेका छन् । यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन्। यस्तै कारणले पनि अर्गानिक खानेकुराहरू चर्चित हुँदै गइरहेका छन् ।’मानव स्वास्थ्य र वातावरणका लागि समेत जुम्लाको खेती प्रविधि महत्वपुर्ण रहेको भनाइ रहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस