जुम्लाको तातोपानीमा ‘सहयात्रा तेस्रो परियोजना’ लागु

वैशाख २६, २०८१

जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना लागु भएको छ । विगत लामो समयदेखि समाज रुपान्तरणका निमित्त काम गर्दै आइरहेको सेभ द चिल्ड्रेन र किर्डाक नेपालले संयुक्त रुपमा योे परियोजजना लागु गरेका हुन् । बुधबार परिचयात्मक कार्यक्रमका बीच तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजनालाई स्वागत गरिएको छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला, पत्रकार, सुरक्षाकर्मीको उपस्थितिमा सहयात्रा तेस्रो परियोजना लागु भएको जानकारी गराइएको हो । यो परियोजनाले तातोपानी गाउँपालिका (१ देखी ८ वटै वडा सम्म) मा चार वटा विधामा पाँच वर्ष सम्म काम गर्ने छ
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले स्थानीय सरकारसँग समन्वय गरेर पालिकामा काम गर्न आउने संघसंस्थाहरुलाई खुल्ला हृदयले स्वागत गरिने बताए । यस परियोजनाले शिक्षा, जलवायु परिवर्तन, बाल संरक्षण र यौन तथा प्रजनन् गरि चार क्षेत्रमा काम गर्ने हुँदा तातोपानीको सामाजिक विकासमा टेवा पुग्ने अध्यक्ष चौंलागाईले बताए । तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना सुरु भएकोमा धन्यवाद दिदैँ स्थानीय सरकारको साथ सहयोग र समन्वय सधैंभरि रहने अध्यक्ष चौंलागाईको भनाई छ ।
परियोजनाको उद्देश्य भित्र रहेर पालिकाले पनि गुणस्तरीय शिक्षा, बालअधिकार शासन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने गरि सेभ द चिल्ड्रेन र किर्डाक नेपालले तातोपानी गाउँपालिकामा काम गर्न तेस्रो परियोजना ल्याएर आएको भन्दै तातोपानी ५ का वडा अध्यक्ष छिरिङ महतले खुसि व्यक्त गरेका छन् । परियोजनाको उदेश्य परिपुर्तिका लागि सबै एकजुट हुन आवश्यक रहेकाले आआफ्नो तह र तप्काबाट सहयोग गर्नुपर्ने वडा अध्यक्ष महतले सुझाव समेत दिएका छन् । याे परियाेजनाले याे आर्थिक वर्षमा झण्डै ४ कराेड बजेटकाे परिधिभित्र रहि काम गर्ने किर्डाक नेपाल का जिल्ला संयाेजक दिपराज रावतले नयाँ कर्णालीलाई बताए ।
दुर्गा माद्यमिक विद्यालय लाम्राका विद्यालय व्यवश्थापन समितिका अध्यक्ष आदि प्रसाद न्यौपानेले विद्यालयमा लागुऔषध परिक्षण गर्ने तर्फ ध्यानार्कषण गराएका छन् । कार्यक्रममा सहभागी सम्पूर्णले बालबालिकाका विभिन्न विषयहरूमा थप कामकाज गर्नु पर्ने सुझाव दिएका छन् । परियोजनाले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षाका विषयमा गरेको सकारात्मक कामलाई सधैंभरी साथ सहयोग र सपोर्ट रहने तातोपानी गाउँपालिका योजना शाखा प्रमुख ओम बहादुर चन्दले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस