‘शैक्षिक कचहरी’ का माध्यमबाट शिक्षा सुधारकाे अभियानमा तातोपानी

जुम्लाको तातोपानी गाउँपालिकाले सामुदाियक विद्यालयमा शिक्षा सुधारका लागि ‘शैक्षिक कचहरी’ सुरु गरेको छ । तातोपानी गाउँपालिकाको आयोजना र भेरीखोला मल्टिप्रपोज मिडिया प्रा.ली.को समन्वयमा सुरु भएको शैक्षिक कचहरी जारी छ । शैक्षिक कचहरीकाे दाेस्राे शृङ्खला आज तातोपानी ५ काे दुर्गा माद्यामिक विद्यालय लाम्रामा सम्पन्न भएकाे छ।
शैक्षिक कचहरीका माध्यमबाट सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने अभियान सुरु गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक कचहरी सुरु गरिएको अध्यक्ष चौंलागाईले बताए ।
तातोपानीका २९ वटा सामुदायिक विद्यालय लक्षित शैक्षिक कचहरी तीन चरणमा सञ्चालन हुने अध्यक्ष चौंलागाईले जानकारी दिएका छन् । आजकाे श्रृङखला दाेस्राे हाे। वैशाख १६ गते पहिलो चरणमा तातोपानी गाउँपालिका वडा नम्वर १, २ र ३ भित्रका ८ वटै सामुदायिक विद्यालयको अवश्थालाई मध्यनजर गरि तातोपानी गाउँपालिकाकाे प्राङ्गणमा छलफल गरिएको थियोे ।
आजको शैक्षिक कचहरीमा तातोपानी ४, ५ र ६ वडा भित्रका राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी र आम नागरिकलाई एक ठाउँमा भेला गरेर छलफल गरिएको अध्यक्ष चौंलागाईले बताए ।
‘सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेका छन् । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्, अध्यक्ष चौंलागाईले भने, ‘आवश्यकताका आधारमा विद्यालय मर्ज गर्ने, शिक्षक व्यवश्थापन गर्ने, शैक्षिक गुणस्तरलाई लयमा ल्याउने उदेश्यले अन्तरक्रियात्मक कार्यक्रम शैक्षिक कचहरी सुरु गरिएको हो ।’
अध्यक्ष र्चौलागाईले पालिकामा शिक्षा क्षेत्र व्यवस्थित बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरेका छन् । शिक्षामा मात्रै राम्रो सुधार ल्याउन सके अरु क्षेत्रमा स्वत सकारात्मक परिवर्तन देखिने उनले बताए ।
विगतमा दिवा खाजा, छात्रवृत्तिलाई पारदर्शी बनाउन तातोपानी भित्रका विद्यालयमा पुगेर परिक्षामा विद्यार्थीको टाउका गन्ने अभ्यास गरेको बताउदै शैक्षिक कचहरीले समेत शिक्षा सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ । ‘शिक्षक महिनाैं दिन सम्म पनि विद्यालय आउदैनन्, यस्ताे तालले विद्यार्थीकाे भविष्य डामाडाेल हुन्छ ।’ छात्रा अनुराधा चाैंलागाईले भनिन् ।
स्थानीय तुल प्रसाद चाैंलागाईले शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्ने लगायतका सुझाव दिएका छन् । विद्यालयको नियमन, अनुगमन, आवश्यकताका आधारमा मर्ज, विधि सम्वत नचलेका विद्यालयलाई दण्डित गर्ने सवालमा पालिका कडा रुपमा प्रस्तुत हुनुपर्ने उनको सुझाव छ ।
कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । तातोपानी ६ का माेहनकुमार खड्काले विद्यालयलाई राजनीति रहित बनाउनुपर्ने बताए । उनले कार्यसम्पादनका आधारमा विद्यालयलाई पुरस्कृत र दण्डित गर्नुपर्ने सुझाव दिएका छन् । शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले तातोपानी ४, ५ र ६ भित्रका सामुदायिक विद्यालयको वर्तमान अवश्था बारे पालिका स्तरीय शिक्षा समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन अनुसार विद्यार्थी संख्या निकै कम भएका विद्यालयलाई मर्ज गर्नुपर्ने देखिएको छ ।
यस्तै छात्रा गिता बुढाले विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुँदा विद्यार्थीको वैयक्तिक विकास हुन नसकेको गुनासो गरेका छन् । प्रर्याप्त शैक्षिक समाग्रीको अभावले अतिरिक्त क्रियाकलाप हुन नसक्दा र विद्यालयले चासो नदिदा विद्यार्थी मारमा परेको उनको गुनासो छ । साथै शैक्षिक भ्रमण समेत नहुँदा विद्यार्थी अवलोकनका माध्यमबाट शिक्षा लिन बञ्चित रहेकाे उनले बताइन् ।
तातोपानी ७ र वडा नम्वर ८ भित्रका विद्यालय लक्षित शैक्षिक कचहरी तेस्राे शृङ्खला यहि वैशाख २१ गते तातोपानी ७ पातरसाँघुमा हुने छ। भेरिखोलाका विद्यालय लक्षित शैक्षिक बहस तातोपानी ७ पातरसाँघुमा वैशाख २१ गते हुने तातोपानी गाउँपालिकाले जनाएको छ । पातरसाँघुमा तातोपानी ७ र ८ का विद्यालयका समस्या र सम्भावना बारे चर्चा हुने छ ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस