जुम्ला खलँगाबाट आधा घण्टाको मोटरयात्रा पछि पुर्वको पातारासीमा प्रवेश गर्दा आँखैमा टाँसिन आउन्छन्, दुइटा सुन्दर बस्ती, ति बस्ति हुन्, माथि लोर्पा र तलि लोर्पा । गाउँ छेवैको जवाँ नदि अनवरत बगिरहेको छ । पातारासी हिमाल र लोर्पा गाउँको मनमोहक दृष्यले सबैको मन लोभ्याउँछ । (तलि र माथी) लोर्पा गाउँ चुवा हिमालबाट बग्ने घट्टेखोला को किनारमा छन् । यहि घट्टेखोलाको पानीले लोर्पाको तिर्खा मेटाएको छ, बिघ्न खडेरीमा पनि जमिन सिँचाई गर्न पुगेको छ । व्यवसायिक कृषि कर्मका लागी घट्टेखोला बरदान सावित भएको छ । दुबै गाउँ व्यवसायिक कृषि कर्ममा रमाइरहेका छन् ।
परम्परागत खेती प्रणालीलाई त्याग्दै व्यवसायिक कृषिकर्मको गुरुत्वबलले तानिरहेको छ, लोर्पाबासीलाई । मकै, गुहँ, जौं रोप्दा दुख मात्रै हुने हुँदा अहिले लोर्पाबासीले नगदेबाली आलु, सिमि, तरकारी र स्याउ ओखर खेती गरिरहेका छन् । गाउँ आत्मनिर्भर बनेको छ । सिजनमा आलु बाटै करोडौं रकम भित्रिन्छ, लोर्पामा । स्थानीय ताजा पोषणयुक्त कृषि उत्पादनलाई तुच्छ मान्ने र कुहिएको आयातित खाद्यान्न लाई सबथोक ठान्ने प्रवृत्ती को अन्त्य भएको छ ।
‘प्रकृतीले आफ्नो गर्भमा असिमित सम्भावनाहरु छिपाएको छ, सम्भावनालाई उपयोग गर्ने सोच र प्रतिवद्धताको मात्रै खाँचो हो, लोर्पा गाउँबाट अरुले सिक्नुपर्छ ।’ स्थानीय प्रकाश विष्टले भने । विदेशी भुमीमा पसिना बगाउन कम्मर कसेका नवजवानहरुलाई स्वदेशमा नै मोती फलाउन लोर्पा गाउँले प्रेरित गरिरहेको छ । यहाँको जमिन केवल ढुँगा माटोले मात्रै बनेको छैन्,, बहुमुल्य जडिबुटी समेत भण्डारण गरेको छ, आफूभित्र ।
लोर्पा गाउँ पुर्वधारमा समेत केहि हदसम्म व्यवस्थित छ । कृषि जन्य उत्पादन संकलन तथा विक्रि वितरण गर्न गाउँले मिलेर साझा घर निर्माण गरेका छन् । किसानलाई भण्डारण गर्न तथा किनबेच गर्न निकै सहज भएको छ । गाउँभित्रै सडक पुगेको छ । एउटै घरमा दुइ टन सम्म आलु उत्पादन हुन्छ । गाडि लिएर व्यपारिहरु गाउँमै पुग्ने गरेको स्थानीय शिवकली बुढाले बताइन । लोर्पा पातारासी क्षेत्रमा बिजुली बाल्ने पहिलो गाउँ हो । २०४५ सालदेखी घट्टेखोलाको पानी बाट बीजुली झिलिमिली बलिरहेको छ । विपन्नताको कालरात्रीलाई चिर्दै सम्पन्नताको उज्यालो घाम उदाएको छ, लोर्पामा । लोर्पा गाउँमा एकमात्रै अभाव हो, शिक्षा । गाउँमा २०४० सालभन्दा अघि जन्मेका सबै नागरिक निरक्षर छन् । अहिले यहाँका स्थानीयले शिक्षामा जोड दिएको पातारासी ५ का वडा अध्यक्ष दत्त बुढाले बताए ।
पातारासी गाउँपालिका जुम्लाकै अन्न भण्डार भनेर चिनिन्छ । जुम्ला खलंगामा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी पातारासी बाटै आयात हुन्छ । पातारासीको आलु, स्याउ ओखर जिल्ला बाहिर समेत निर्यात हुदै आएको छ । पातारासी गाउँपालिका भित्र ७ वटै वडाका सबै गाउँमा सडक पुगेको पालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले जानकारि दिए । दुख, कष्ट र अभाव बोकि घस्रिरहेको जनजीवनलाई आत्मनिर्भरको बाटोमा दौडाउन लोर्पा गाउँ सफल भएको छ ।
आकर्षक र आत्मनिर्भर लोर्पा गाउँको कथा
प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस