भाद्र ४, २०८०
यतिबेला जुम्ला स्याउमय बनेको छ । रहरलाग्दा स्याउ बगैंचामा किसान डुलिरहेका भेटिन्छन् । बेच्नु छ, उनिहरुलाई आफ्नो उत्पादन, पन्छाउनु छ, अभावका छेकबारलाई । भदौ महिना लागेसँगै किसानलाई स्याउ संकलन गर्ने चटारो छ । औसतमा स्याउ बगैंचा भित्र सिमि केराउ लगाउने गरिन्छ । तर जुम्ला गुठिचौर गाउँपालिका ५ का बिर्ख बहादुर सार्कीको स्याउ बगैंचा अनौठो छ ।
बिर्ख बहादुरले जुम्ला गुठिचौरको देपालगाउँमा जडिबुटी र स्याउ खेतीमा नयाँ अभ्यास गरेका छन् । एउटै बगैंचा भित्र स्याउ र जडिबुटी खेती सफल भएको छ । जमिन माथि स्याउ फलेको छ, भने जमिन मुनि जडिबुटी उत्पादन भएको छ । अहिले उनलाई स्याउ सँगै जडिबुटि संकलनको चटारो छ । बगैंचा भित्र स्याउ सँगै १८ प्रकारका जडिबुटी रोपिएको छ । जस मध्य ८ प्रकारका जडिबुटी बाट हिमाली चिया बन्छ । जडिबुटी चिया देशका विभिन्न शहरमा पुग्छ । महिनामा कम्तिमा ६ सय प्याकेट चिया विक्रि गर्दै आएको उनले बताए ।
‘अहिले अत्तिसको बीउ संकलन हुदैछ, केहि दिन भित्र अत्तिसको जरा संकलन गर्ने तयारी छ ।’ उनले भने । उनकानुसार जडिबुटी खेती २०५३ साल बाट सुरु भएको थियो । यसबाट आम्दानी लिन भने झण्डै १५ वर्ष कुर्नुपर्यो । जब अर्गानिक चिया मसला उद्योग र स्याउ खेतीलाई जोडियो त्यसपछि आम्दानी बढ्यो । चिया प्रति प्याकेट ८० रुपैंयामा विक्रि भइरहेको छ, जडिबुटीको चिया, जरा, बीउ र स्याउबाट वार्षिक १० लाख सम्म आम्दानी हुने उनले बताए । आफ्नो संघर्ष सुनाउदै उनले भने, ‘सानो संघर्षले स्थापित कर्म होइन यो, हराउने जँगल काटेर, चिप्लने हिमाल उक्लेर, बगाउने खोला तरेर सफल भएको पेशा हो, जडिबुटी र स्याउ खेती ।’ जडिबुटीको व्यवहारिक अध्ययन र अनुसन्धान गर्दै जाँदा डेढ दशक अनुभवमै बितेको उनले जानकारी दिए ।
जुम्लामा स्याउ बगैंचा भित्रै जडिबुटी खेती गरेर दोहोरो आम्दानी गर्ने बिर्ख बहादुर एक्ला हुन । उनलाई ‘जडिबुटी दाई’ उपमानले चिन्ने गरिन्छ । जडिबुटी खेती आम्दानीको स्रोत मात्रै नभएर लोपउन्मुख जडिबुटि संरक्षणका लागि समेत महत्वपुर्ण रहेको गुठिचौर ५ का राम दवाडी बताउन्छन् । ‘जँगलमा जडिबुटी लोप हुदै गएको छ, कुनै कुनै जडिबुटी दिनभर घुमेपनि देख्न सकिदैन, तर यो स्याउको बगैंचा भित्र १८ प्रकारका जडिबुटी एकसाथ देख्न सकिन्छ । बिर्ख बहादुरको बगैंचा जडिबुटी अवलोकन गर्ने अनमोल भूमी हो भन्दा फरक नपर्ला ।’ स्थानीय राम दवाडीले भने ।
बिर्ख बहादुरको बगैंचामा गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातको स्याउ सँगै अत्तिस, सुमयो, भुल्त्या, पाखनवेद, पोकचल्लो, सेतो चिनि लगाएत १८ प्रकारका जडिबुटि छन् । इच्छाशक्ति मात्रै देखाउने हो भने देशमा अवशरै अवशर रहेको बिर्ख बहादुर बताउन्छन् । ‘ गाउँमा आयआर्जनको माध्यमै छैन भन्ने गलत भाष्य बनाइएको छ, हाम्रो परिवारलाई ५ मिनेट पनि फुर्सद छैन, कसैले चिया प्याकिङ गर्छन, कोहि जडिबुटी रेखदेखमा खटिन्छन्, कसैलाई स्याउ ओखर व्यवश्थापनको जिम्मेवारी हुन्छ ।’ उनले भने ।
डिभिजन वन कार्यालयका अनुसार जुम्लाबाट २२ प्रकारका जडिबुटि निर्यात भइरहेको छ । अव्यवस्थित रुपमा संकलन गर्दा कतिपय जडिबुटि लोप हुने अवश्थामा पुगेको देखिन्छ । लेकाली क्षेत्रका बगैंचामा स्याउ र जडिबुटिबाट दोहोरो आम्दानी लिन सकिने देखिन्छ ।
किसानको काइदाः एउटै बगैंचामा माटो मुनि जडिबुटी, माथी स्याउ उतपादन
एउटै समयमा दोहोरो आम्दनी
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस